नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)
नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले उद्योग व्यवसायमा निराश हुनुपर्ने स्थिति नरहेको बताउनुभयो ।

उद्योग व्यवसाय विकासमा सरकारको ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारी फार्ममा भेंडा, च्याङ्ग्रा पालेर उद्योग सञ्चालन गर्न इच्छुक व्यवसायीलाई सरकारले सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । ज्याला बढ्दै गएको तर उत्पादकत्व नबढेको विषयमा भने आफ्ना कमी कमजोरीबारे व्यवसायीले अन्वेषण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । उहाँले भेंडाको ऊन उत्पादन बढाउन सरकारको स्वामित्वमा रहेका भेंडागोठ निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सकिने बताउनुभयो ।

संघका अध्यक्ष नरेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपँर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले निर्यात व्यापार बढाउन सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष, शेखर गोल्छा, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याललगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा सबैभन्दा धेरै निर्यात गरी प्रथम हुने एभरेष्ट फेसन, द्वितीय कल्पना क्राफ्ट, तृतीय हुने हाते उद्योग प्रालिलाई सम्मान गरिएको थियो ।

त्यस्तै ५ करोडभन्दा निकासी गर्ने उल एन्ड यार्न प्रालि, नेपाल क्राफ्ट ग्यालरी, बागमती आर्ट एन्ड क्राफ्ट र एसियन क्राफ्ट गरी चार कम्पनीलाई अर्थमन्त्री खतिवडाले सम्मान गर्नुभएको थियो । सो साधारण सभाबाट नयाँ कार्य समिति चयन गरेको छ । १३ सदस्यीय कार्यसमितिको अध्यक्षमा अमृत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाख्वा, महासचिवमा चक्रमणि देवकोटा, कोषाध्यक्षमा शान्ति श्रेष्ठ र सचिवमा तेलप्रसाद कुमाल निर्वाचित हुनु भएको छ । संघको सदस्यहरुमा शिव अधिकारी, सरोज नेपाल, प्रभु कार्की, बिमला रिजाल, राजेन्द्र पराजुली, सुनिता शेर्पा र सुनिता श्रेष्ठ रहेका छन् ।