ट्रेलरमा शुभ लभ



आगामी चैत १५ गतेबाट अल नेपाल रिलिज हुने फिल्म शुभ लभको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो।

यो फिल्मबाट युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रूपमा डेब्यु गर्दै छन्। फिल्मको कथामा मुख्य पात्रको चरित्र केही हदसम्म आप्mनो जीवनमा मेल खाने ज्योतिष अधिकारीले बताए। फिल्ममा हरिहर र कृष्टिन पौडेल जोडीका रूपमा छन्।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा प्रदीपकुमार उदयद्वारा प्रस्तुत तथा धर्मराज शर्मा सुवेदीद्वारा निर्मित फिल्म सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन्। आफू लामो समयपश्चात् सिनेमा निर्माण तथा निर्देशनमा फर्किएकाले शुभ लभलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीले बताए।

फिल्ममा हरिहर र कृष्टिनका साथ सरोज खनाल, राजाराम पौडेल, राजाराजेन्द्र पोखरेल, रवीन्द्र झा, प्रदीप बास्तोल, डा. सूर्या थापा, अनुज पाण्डेलगायतले अभिनय गरेका छन्। फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानको कोरियोग्राफी, रोशनविक्रम भट्टराईको द्वन्द्व, रामेश्वर कार्कीको छायांकन तथा बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्