नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैतमा



काठमाडौं, (नेस)
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत १४ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष मेला आयोजना गर्दै आएको छ ।

भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाका लागि स्टल बुकिङ खुला भइसकेको र यस वर्षको मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा र मेलामा नेपाली हस्तकला र एनटीआईएस वस्तुको ५० वटा स्टल बुकिङ भइसकेको महासंघले जनाएको छ ।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । यसपटकको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आठौं संस्करण हो ।
महासंघका अध्यक्ष भवानी राणाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै गएको बताउनुभयो ।

अध्यक्ष राणाले यसपटक लगानी सम्मेलनमा आउने विदेशी प्रतिनिधि र सार्क क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिनिधिको समेत मेला अवलोकनमा सहभागिता हुने र एनआइटीएफ मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्यान्ड, म्यानमारलगायतका देशहरूको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापानलगायतका देशबाट क्रेताहरू आउने अपेक्षा गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तत्र्रिmया गराउने लक्ष्य समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्