होम सेक्युरिटी क्यामेराहरू बोल्न थालेपछि परिवार चिन्तित



वासिंगटन, (एजेन्सी)
अमेरिकाको वासिंगटनको अवर्न निवासी एक परिवारले ह्याकरहरूका कारण वास्तविक जीवन पनि हरर मुभिजस्तै गरी बिताउनुपरेको छ। ह्याकरहरूले हरदम होम सेक्युरिटी क्यामेराहरूमार्फत आफूहरूमाथि निगरानी राखिरहेको थाहा पाएपछि तिनीहरूले त्यस्तो महसुस गरेका हुन्।

सो परिवारका सदस्य एब्बी लाग्विदाओले याहु लाइफस्टाइललाई भनेकी छिन् , ‘गत डिसेम्बरमा मैले घरमा नेस्ट होम सेक्युरिटी सिस्टम जडान गरेकी थिएँ। एउटा क्यामेराअगाडिको ढोकानजिक र अर्को लिभिङ रुमको कुनामाथि जडान गराएकी थिएँ। यस घरमा म मेरा ब्वाइफ्रेन्ड कोराडो क्यासाल्लो र तीन सन्तानसँग बस्ने गरेकी छु। मेरा छ वर्षका जुम्ल्याहा र एक दुधे बच्चा छन्। तर ती क्यामेरा राखेको केही समयपछि नै मलाई आफ्नै घरभित्र असजिलो महसुस हुन थाल्यो।’

उनी अगाडि बताउँछिन्– ‘मैले आफ्ना ब्वाइफ्रेन्डलाई कसैले मलाई जिस्काइरहेको जस्तो लाग्छ भनेको अझै याद छ।’ उनलाई यतिसम्म असजिलो लाग्न थाल्यो कि उनले क्यासाल्लोलाई कारमा भेट्न थालिन्। उनलाई राति अबेर फर्किंदा मुलढोकानिर पुग्दा कस्तोकस्तो लाग्न थाल्यो। विस्तारै उनले घरमा मसिनो आवाज र संगीत सुन्न थाले।

तर उनले ती आवाज कहाँबाट आइरहेको भन्ने ठम्याउन सकिनन्। ती आवाज बिहान उनको ब्वाइफ्रेन्डले बच्चाहरूलाई स्कुलमा छोड्न जाँदा र उनी घरमा एक्लै बसेर कफी पिइरहँदा सुनिन थाल्थ्यो। मैले यो आवाज मेरी छोरी एलेक्साको कारण वा केही कम्प्युटर वा ल्यापटप अन भएकाले सुनिएको हुनुपर्ने विचार गरेँ।

मैले निकै ध्यान दिएर सुन्ने गर्दा मेरी छोरीको बेबी मोनिटरबाट आइरहेको जस्तो लाग्यो। तर आइप्याड अन थिएन। मलाई घरमा कोही भएजस्तो लाग्यो। तर लिभिङ रुममा बस्दा मात्र मैले त्यस्तो आवाज सुन्ने गथेँ। मलाई सो आवाजबारे मेरो ब्वाइफ्रेन्डलाई भनौं कि नभनौं भइरहेको थियो।
तर एकदिन बिहान चार बजे उनले पनि सो आवाज सुने। आवाज स्पष्टसंग सेक्युरिटी क्यामेराबाट आइरहेको थियो। केही मानिसहरू त्यसबाट कुरा गरिरहेको सुनियो। हामीले तुरुन्तै त्यो क्यामेरा निकालिदियौं। तर अझै बाहिरको क्यामेराबाट पनि आवाज आइरहेको थियो। हामीले त्यसलाई पनि हटाइदियौं।’

कतै सिग्नल गडबडीका कारणले मात्र त त्यस्तो मान्छेहरू बोलेको सुनिएको होइन भन्ने सोचेर लाग्बिदाओले भोलिपल्ट बिहान फेरि क्यामेरा जडान गरिन्। त्यसको भोलिपल्ट अर्थात् सोमबारको दिन त अति नै भयो।

उनी भन्छिन्– ‘त्यो दिन बच्चाहरू र म घरमै थिएँ। म ल्यापटपमा काम गर्दै थिएँ। जुम्ल्याहा बच्चाहरू मूभि हेरिरहेका थिए। दुधे बच्ची उनकी हजुरआमाको घरमा थिइन्। क्यासाल्लो काममा गएका थिए। ती आवाजहरूले मेरा बच्चाहरूसँग कुराकानी गर्न थाले। बच्चाहरूले पनि तिनीहरूको कुरा फर्काउन थाले।

तिनीहरूले क्यामेरामा आफ्नो बुबा हुनुपर्ने सोचेका थिए। किनभने कहिलेकाहीँ क्यासाल्लोले तिनीहरूलाई क्यामेराबाट चेक गर्ने गर्दथे। तर क्यामेराबाट तिनीहरूले हामीलाई अश्लिल शब्दहरू प्रयोग गर्न थाले। हामीलाई तिनीहरूले हेर्न सक्ने कुरा हामीले थाहा पाएजस्तो लागेपछि तिनीहरूले अझै जथाभावी बोल्न थाले।

म निकै लाचार थिएँ। त्यसैलै बिस्तारै माथिल्लो तलामा गएर क्यासाल्लोलाई यसबारे जानकारी दिएँ। उनले तिनीहरूको अवाज रिकर्ड गर्न सल्लाह दिए। आइफोन क्यामेरातर्फ तेर्साएपछि तिनीहरूले रिकर्ड नगर्न धम्की दिन थाले। अन्त्यमा तिनीहरूले एसियान को हो रु र तिम्रो कुकुरलाई फ्राइ गर्ने कि डिप प्यान फ्राइ गर्ने रु भनेर प्रश्न गरे। ’

क्यासाल्लो घर आएपछि तिनीहरूले नेस्ट कम्पनीलाई फोन गरेर क्यामेरामा बोल्नेहरू पत्ता लगाउन आग्रह गरे। तर नेस्टले आफूसंग त्यस्तो प्रविधि नभएको भन्दै माफी माग्यो। भोलिपल्ट तिनीहरूले यसबारे प्रहरीमा उजुरी गरे।

प्रहरीले पनि अपराधि पत्ता लगाउन सकेन। त्यसपछि तिनीहरूले आफैंले अनुसन्धान शुरू गरे। क्यासाल्लोले लाग्विदाओको नेस्ट एकाउन्ट ह्याक भएको भेट्टाए। यसरी ह्याक गर्ने संयुक्त अधिराज्यमा बस्ने एकजना गेमर रहेछन्। भोलिपल्टै प्रहरीले थप कारबाही अघि बढायो।

रिकर्डिङमा जातिवादी प्रसंग पनि उठाइएकोमा यसलाई थप गम्भीर अपराधको रूपमा लिइएको छ। अझै अनुसन्धान जारी रहेको बताइएको छ। यसरी घरेलु सुरक्षाका लागि लिइएको क्यामेराले आफूलाई तनावैतनाव दिएको यस दम्पत्ति बताउँछन्।

प्रतिक्रिया दिनुहोस्