ट्रम्प–किम वार्ता: स्टेट अफ द युनियन सम्बोधनमा वार्ताको तिथि घोषणा हुने



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीको अन्त्यतिर हुने उत्तर कोरियाका नेता किमजोङ उनसँगको दोस्रो वार्ताका लागि तिथि र स्थानको घोषणा अर्को हप्ता गर्ने बताए।
मंगलबार कांग्रेसमा आफ्नो स्टेट अफ द युनियन सम्बोधनका क्रममा कार्यक्रमको घोषणा गर्न चाहेको ट्रम्पले जानकारी दिए। उनको प्रशासनले उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई नियन्त्रित गर्ने सम्बन्धमा आश्चर्यजनक प्रगति गरेको ट्रम्पले पत्रकारहरूलाई बताए।

सन् २०१७ मा आफूले कार्यभार सम्हाल्नु अगाडि अमेरिका र उत्तर कोरिया युद्धतर्फ बढिरहेको छ भन्ने आफूलाई लागेको उनले बताए। अहिले उत्तर कोरियाले न त क्षेप्यास्त्र, न त रकेट र न त परमाणु परीक्षण नै गरिरहेको उनले बताए।

परमाणु संयत्र नस्ट गर्ने उत्तर कोरियाको संकल्प
उत्तर कोरियाले आफ्ना सबै परमाणु हतियार सम्बन्धी सामाग्री तथा केन्द्र नष्ट गर्ने संकल्प लिएको अमेरिकी विशेष दूत स्टिफन बिगनले बताएका छन्। यसका लागि प्योङयाङले सम्बन्धित उपायमा छलफल गर्ने योजना बनाइरहेको र अमेरिकाले उसलाई परमाणु निशस्त्रीकरणतर्फ लागोस भन्ने चाहेको स्टिफन बिगनले बीबीसीसँगको कुराकानीमा बताए।
यसका लागि अमेरिकाले पहिला देशको हतियार कार्यक्रमका बारेमा पूर्ण जानकारीसहितको समझदारी बनाउन आवश्यक भएको उनले बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस मुद्दामा दुबै देशले व्यापक प्रगति गरेको बताएका थिए।

यसअघि क्यालिफोर्नियाको स्टेनफोर्ड युनिभर्सिटीमा दिएको एक भाषणमा बिगनले उत्तर कोरियाले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियो र दक्षिण कोरियासँग यस विषयमा प्रतिवद्धता व्यक्त गरेको बताए। यसका लािग अमेरिकाले पहिला उत्तर कोरियाको परमाणु कार्यक्रमसम्म विशेषज्ञहरूको पहुँच बनाउन र निगरानी संयन्त्रमा सहमत हुन आवश्यक भएको उनले बताए। उत्तर कोरियामाथि हमला गर्ने सोच नभएको र त्यहाँको सरकार गिराउने प्रयास पनि नगरेको बिगनले बताए।

प्रतिक्रिया दिनुहोस्