अनलाइनमार्फत युरेनियम लिलाम



टाकियो, (एजेन्सी)
जापानी प्रहरीले युरेनियम बताइएको वस्तु कसरी अनलाइनमार्फत लिलाममा राखियो भन्नेबारे शुक्रबारबाट अनुसन्धान शुरु गरेको छ। सो वस्तु बिक्री गर्न खोज्ने र लिलाम बढाबढ गर्ने थुप्रै व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

काँचको ट्युबमा राखिएको तथा ‘९९ दशमलव ९९ प्रतिशत युरेनियम’ लेखिएको सो वस्तु याहुको साइटमा लिलाममा राखिएको थियो। जापानको क्यादो समाचार निकायका अनुसार पहिलो परीक्षणपछि सो सेतो पाउडर रेडियोधर्मियुक्त रहेको जनाएको छ। उक्त अनलाइन लिलामप्रति जापानको परमाणविक नियमन निकायको सन् २०१७ मा ध्यानाकर्षण भएको थियो। सो निकायले सो वस्तु प्रयोग भइसकेको काम नलाग्ने युरेनियम ठानेको हुनुपर्ने माइनिची अखबारले जनाएको छ।

साथै माइनिचीले बिक्रेताले यो वस्तु जापानबाहिरको कुनै वेवसाइटमा किनेको हुनुपर्ने दाबीसमेत गरेको छ। परमाणविक निकायले याहुसंग तत्काल सम्पर्क गरी यस्तो आश्चर्यजनक वस्तुको लिलाम रोकेर यो घटना प्रहरीलाई सुम्पेको थियो।

जापानमा परमाणविक उर्जासम्बन्धी पदार्थको बिक्री वितरण प्रतिबन्धित छ। स्थानीय सञ्चार माध्यमका अनुसार यस्तो कार्यमा दोषी ठहर भएको खण्डमा एक वर्ष लामो कारवास संजाय हुन सक्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्