पर्वत, (नेस)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा परिषद्ले कुनै त्रुटि नगरेको बताउनुभएको छ।
जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको स्थानीय तहको समीक्षा गोष्ठीमा बोल्दै अध्यक्ष तिमिल्सिनाले संवैैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सबै प्रकृया पुरा भएका कारण कुनै त्रुटि नभएको स्पष्ट पार्नुभएको हो।
संवैैधानिक परिषद्को बैठकमा सहमतिका प्रयास लामो समय गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजनीतिक रूपमा धेरै सहमतिको प्रयासपछि संवैैधानिक आयोगको रिक्त पदाधिकारीहरू नियुक्त भएको भनाइ अध्यक्ष तिमिल्सिनाको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा सरकारले प्राकृतिक तथा वित्त आयोगको प्रमुखमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई नियुक्त गरेको थियो। उक्त नियुक्तिप्रति नेपाली कांग्रेसले असहमति राख्दै आएको छ।
संवैैधानिक परिषद्का सदस्यसमेत रहेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी दलको नेता अनिवार्य रूपमा उपस्थित हुन नपर्ने संवैैधानिक व्यवस्था रहेको र सहमतिको प्रयास गर्दा र बैठकमा खबर गर्दा अनुपस्थित भएपछि बाध्य भएर निर्णयमा पुगेको दाबी गर्नुभयो। उहाँले अझै केही आयोगहरूमा पदाधिकारी तथा अन्य आयोगमा सदस्य नियुक्ति गर्न बाँकी रहेका कारण सहमतिको सम्भावना छ भन्नुभयो। ‘संवैधानिक आयोग नियुक्तिमा ढिलाइ भएपछि सहमतिको प्रयासपछि अन्तिम समयमा आएर नियुक्ति गरिएको हो, यसमा कुनै त्रुटि भएको छैन,’ उहाँले भन्नुभयो– ‘अझै सहमतिको सम्भावना छ, सहमतिकै आधारमा परिषद् अघि बढ्छ।’










प्रतिक्रिया