हिजो भएको सम्झौतामा सिन्धुली जिल्लाको तर्फबाट जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरराज वर्मा तिवारी र पोछन सिटीका मेयर पार्क योन गुकले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा पारस्परिक विकास र समृद्धिका लागि कृषि, अर्थव्यवस्था र संस्कृति सहित साझा चासोका क्षेत्रमा विविध आदन प्रदान र सहयोगलाई अघि बढाइने उल्लेख छ ।
सिन्धुली जिल्लाले कोरियामा खेतीको व्यस्त मौसमको दौरानमा कामदार उपलब्ध गराउने र रोजगार दाताले त्यसको ज्याला तिर्नुका साथै उन्नत कृषि प्रविधि सिकाउने जनाइएको छ ।
सिन्धुली र पोछन सिटीबीच भ्रमण आदान प्रदानका साथै भविष्यमा भातृ सहरको सम्बन्ध स्थापित गरी सम्बन्धलाई अझ उचाईमा पुर्याउने दुवै पक्षले प्रतिबद्धता समेत जनाएका छन् ।
सम्झौतापत्रमा दुवै पक्षले संस्कृति, पर्यटन, प्रशासनको क्षेत्रमा सहयोग आदानप्रदानलाई पनि जोड दिइएको आठ जनाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कोरिया भ्रमणमा रहेका जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक तिवारीले जानकारी दिए ।
उनका अनुसार सो सहमति पाँच वर्षको लागि कार्यान्वयन हुने छ । मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि छलफल र सम्झौता गर्न सिन्धुली जिल्लाको प्रतिनिधि मण्डल माघ १५ गते एक हप्ताका लागि कोरिया भ्रमणमा गएको थियो ।
कोरियामा रहेका विज्ञान लामा र दक्षिण कोरियाको संस्था ‘एक ५ माया सबैलाई बाडौँ’ ले यो एक हप्ते भ्रमणको संयोजन गरेको जनाइएको छ । एक ५ माया बाडौँ संस्था र समाजसेवी विज्ञान लामाले पोछन सहर र सिन्धुलीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि दुइ वर्षदेखि प्रयास गर्दै आएका थिए ।
भ्रमणमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामा, नेपाली काँग्रेस सिन्धुली जिल्ला सभापति उज्वल बराल, हरिहरपुरगढी गाउँपालिकाका नेपाली काँग्रेसका नेता बम बहादुर स्याङ्वा, क्यानेश्वरका समाजसेवी भिम बहादुर लामा, हरिहरपुरगढी–७ का वडा अध्यक्ष बालकृष्ण नेपाल, नेपाल गलैँचा उत्पादन तथा निर्यात सङ्घका सचिव हिराबहादुर लामा र नेपाली काँग्रेस सिन्धुली काठमाडौँ सम्पर्क समितिका सभापति विदुर वाइवा रहेका छन् ।











प्रतिक्रिया