बैतडी, (नेस)
स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।
सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए बापत २ हजार र नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने आठ सय रुपैया चालु आर्थिक बर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भएपनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।
जिल्लाका १० ओटै स्थानीय तहमा सुत्केरी भत्ता बापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकहरुले जनाएका छन् ।
सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमाहरु रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने बित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने गरेको छ ।
यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चाैंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए ।
स्थानीय तहहरुमा सुत्केरी भत्ता बापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए ।
सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए बापत आमाले एकहजारमा पाउने गरेकोमा चालु आर्थिक बर्षमा २ हजार पाउने व्यवस्था गरेको छ । तर सुत्केरीले पाउने भत्ता गत बर्षको भन्दा कम निकासा भएको स्थानीय तहहरुले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् ।











प्रतिक्रिया