काठमाडौँ ।
सिसीटिभी फुटेजको मद्दतले २०७१ सालमा भएको ‘डल्लु हत्याकाण्ड’का अभियुक्त पक्राउ परे । काठमाडौं विजुलीबजारमा २०७२ सालमा मोटरसाईकल चालकको मृत्यु भएको घटनामा फुटेजकै कारण आरोपित ट्याक्सी चालकले न्याय पाए । आर्थिक वर्ष २०७४–२०७५ मा विभिन्न ट्याक्सीमा छुटेको करिब ४२ लाख ११ हजार रुपैयाँ बराबरको विभिन्न सामान ट्राफिक प्रहरीले फुटेजकै आधारमा पत्ता लगाएर सम्बन्धित धनीलाई जिम्मा लगायो ।
सिसीटिभी प्रयोगका केही महत्वपूर्ण प्रतिनिधि उदाहरण मात्र हुन् । सिसीटिभी भिजुअल प्रविधि हो । यस प्रविधि अन्तर्गत¥यापिड सूचना प्रणाली र ड्रोन समेतको प्रयोग नेपाल प्रहरीमा प्रचलनमा छ ।
अपराध रोकथाम तथा नियन्त्रण र घटित अपराधको सफल अनुसन्धानमा यस्ता प्रविधिको प्रभावकारी प्रयोग हुँदै आएको छ । प्रभावकारी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका लागि आधुनिक प्रविधिको प्रयोगलाई बढाउने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्राथामिकताको आधारमा भिजुअल प्रविधि उच्च प्राथमिकतामा परेको हो ।
भिजुअल प्रविधि जडान, मर्मत तथा नियन्त्रण प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले गर्ने गरेको छ । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा. राजीब सुब्वा भन्नुहुन्छ, ‘यस्ता खालका प्रविधिले नेपाल प्रहरीलाई सञ्जय दृष्टि प्रदान गरेको छ ।
क्षितिज भन्दा टाढा पनि प्रहरीको कमाण्ड क्षमता हुनुपर्छ भन्ने कुरा यो प्रविधिले देखाउँछ ।’
भिजुअल प्रविधि अन्तर्गतको¥यापिड सूचना प्रणाली नेपाल प्रहरीमा भित्रिएको आधुनिक प्रणाली हो । ‘फोरजी ताररहित प्रविधिमा यो प्रणाली आधारित छ । एउटै च्यानलमा बसेर धेरै प्रयोगकर्तासँग अडियो, भिडियो, मेसेज यसबाट शेयर गर्न सकिन्छ ।
विपद तथा आपतकालीन अवस्थामा अन्य संचार माध्यममा सम्र्पकविहिन भएको अवस्थामा यो प्रविधिले प्रभावकारीरुपमा काम गर्ने गरेको छ । आपतकालीन अवस्थामा १५ मिनेटमै यस प्रविधि जडान गरी संचालन गर्न सकिन्छ । अति विशिष्ट व्यक्ति, विशिष्ट व्यक्ति तथा अन्य सुरक्षा व्यवस्थापनमा यसको प्रयोग गर्ने गरिएको छ । प्रहरी नायब महानिरीक्षक डा. सुब्वा भन्नुहुन्छ, ‘नेपाल प्रहरीमा हाल ५० सेटसहित यो प्रविधि प्रयोगमा छ ।
घटनास्थलमा भिडियो खिच्दाखिच्दै प्रहरी प्रधान कार्यालयस्थित कमान्ड सेन्टरबाट दृश्य निगरानी गर्न सकिने यो प्रविधिलाई निकट भविष्यमै विपद व्यवस्थापनका लागि ७ वटै प्रदेशमा प्रयोग गर्ने नेपाल प्रहरीको लक्ष्य रहेको छ ।’
‘अनम्यान्ड अरियल भेहिकल’को छोटो नाम ड्रोन हो । भिजुअल प्रविधि अन्तर्गत पर्ने ड्रोनको प्रयोग अवाञ्छित गतिविधि तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने गरिउको छ ।
उपत्यकाको सवारी चाप अनुगमन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनमा यसको प्रयोग हुँदै आएको छ । सुरक्षा लगायतका प्रहरी कार्यका लगि ड्रोन उडान गरी भिडियो फुटेज लिने गरिन्छ । हाल नेपाल प्रहरीमा ३ ड्रोन र २ ड्रोनपाइलट छन् ।
भिजुअल प्रविधि अन्तर्गत पर्ने सिसीटिभीको प्रयोग अपराधको निगरानी गर्न सकिने बताइएको छ ।
नेपाल प्रहरीले २०६१ देखि सिसीटिभी प्रयोगमा ल्याएको हो । सुरूमा प्रहरी प्रधान कार्यालय परिसर वरिपरी घट्न सक्ने अपराधलाई नियन्त्रण गर्न ८ सेट सिसीटिभी जडान गरिएको थियो । पछि काठमाडौं उपत्यकामा २०६४ मा १० वटा, २०६७ मा ४८ वटा र भिडियो राख्न डिभिआर जडान गरी हुनसक्ने अवाञ्छित गतिविधि निगरानी सुरू गरिएको हो । १८औं सार्क सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंका विभिन्न स्थानमा १५३ वटा आईपी क्यामरा जडान गरी त्यस्ता गतिविधि निगरानी गर्न सुरु गरेको थियो ।
हाल आएर भिजुअल प्रविधिको प्रयोग, प्रभावकारिता र विस्तारका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्तारसूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘प्रविधिको विकाससँगै यसको प्रयोग गरी अपराध गर्ने उदाहरण देखा परेकोले अपराध रोकथाम तथा अनुसन्धानमा प्रविधिको प्रयोग महत्वपूर्ण छ ।
पछिल्लो समय सिसीटिभीको प्रयोग क्रमशस् वढ्दो छ । देशका मुख्य शहर, सीमा प्रवेश नाका, राजमार्गलगायतका महत्वपूर्ण स्थानमा आव २०७३÷२०७४ मा ५०७ वटा, आव २०७४÷२०७५ मा ९९० वटा र चालु आव २०७५÷२०७६ मा ८५७ वटा सिसीटिभी क्यामरा थप जडान भएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरमा ४७४ वटा तथा ७ वटै प्रदेशहरूमध्ये विराटनगर अन्तर्गत ३६२ वटा, जनकपुर अन्तर्गत ४४७ वटा, हेटौंडा अन्तर्गत ४७५ वटा, पोखरा अन्तर्गत ४७० वटा, दाङ अन्तर्गत ४५७ वटा, सुर्खेत अन्तर्गत ११२ वटा र दिपायल अन्तर्गतका जिल्लामा ११९ वटा सिसीटिभी जडान भएका छन् ।
राजमार्ग तथा मुख्य शहरी क्षेत्रमा २,९१६ वटा क्यामराबाट निगरानी गरी विभिन्न घट्नामा फरार अपराधीलाई फुटेजको माध्यमबाट पहिचान गरी सफल अनुसन्धान कार्यमा सहयोग भइरहेको छ । यसै प्रभावकारितालाई मध्यनजर राख्दै सिसीटिभी राष्ट्रिय ग्रीड निर्माण गर्ने लक्ष्य नेपाल प्रहरीको रहेको छ ।
नेपाल प्रहरीले हालै लागू गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भिजुअल प्रविधि प्रयोग गर्न प्रेरित गर्ने, थप स्थापना र विस्तार गर्ने नीतिलाई प्रभावकारी बनाउन जोड दिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी भन्नुहुन्छ, ‘नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रविधिको प्रयोगलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउन केन्द्र सरकारसँग बजेट माग, विभिन्न पालिकाहरुसँग समन्वय गरी काम गर्दै आएको छ । साथै विभिन्न संघरसंस्थासँग सहकार्यका कार्यक्रमहरू पनि सशक्त रुपमा संचालन गरिएका छन् ।’
भिजुअल प्रविधिकै आधारमा कर्तव्यज्यान, चोरी, डकैतीलगायतका घटनामा सफल अनुसन्धान भएका घटना प्रशस्त छन् । मानिसले देख्न नसक्ने घटना भिजुअल प्रविधिले जानकारी दिन सक्छ ।
प्रभावकारी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि यो प्रविधिको प्रयोग महत्वपूर्ण छ । भिजुअल प्रविधि नागरिक सुरक्षाकै लागि हो । त्यसैले नेपाल प्रहरी, स्थानीय निकाय, विभिन्न संघसंस्था र जनस्तरमै पनि यो प्रविधिको सराह्रना गरिएको हो ।











प्रतिक्रिया