‘सवारी चालकको लापरवाहीका कारण दुर्घटना बढ्यो’
पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर ट्रक व्यवसायी सङ्घको १९आँै वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा गणेश त्यात, सचिवमा नातीभाइ ह्योम्बा, सहसचिवमा नरेश गोठे, कोषाध्यक्षमा आशाराम वैद्य, सहकोषाध्यक्षमा जितेन्द्र खायमली, सदस्यमा कमलनारायण धुख्वा, कृष्णप्रसाद प्रजापति, चन्द्रकृष्ण ग्वाछा, पूर्णप्रसाद गायजु र सानुकाजी चिकंबन्जार चयन हुनुभएको छ ।
यस अघि उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सडक दुर्घटना निकै भयावह रूपमा बढेको बताउँदै यसलाई नियन्त्रण गर्नु सबैको दायित्व भएको आँैल्याउनुभयो । चालकले सवारी नियम मात्रै पालना गरे पनि दुर्घटना कम हुने उहाँको भनाइ छ ।सबै सवारी साधनलाई ट्राफिक लेन अनुशासनलाई प्रभावकारी एवं कडाईका साथ पालना गर्न गराउन लगाउनुपर्ने र लेन अनुशासन पालना नगर्नेलाई नियमानुसारको कारबाही गर्न उहाँले माग गर्नुभयो ।
एउटा चालकको लापर्वाहीले हुने दुर्घटनाबाट कयौको परिवार बिचल्लीमा पर्ने भएकाले चालकले सवारी चलाउदा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो ।उहाँले क्षमता भन्दा बढी भार बोकेर सवारी साधन गुड्ने गर्दा सडक बिग्रने गरेको र त्यसैले दुर्घटना हुने गरेको बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभयो । उहाँले चालकको लापरवाहीकै कारण कहालीलाग्दो अवस्थाको दुर्घटना हुने गरेको बताउनुभयो । महाशाखा प्रमुख पन्तले विश्वमा आधुनिक प्रविधिको व्यवस्था भए पनि नेपालमा हातकै भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको भनाइ राख्नुभयो ।
हनुमन्ते तथा मनोहरा करिडोर निर्माण, पेप्सिकोला क्षेत्रको सडक खुलाउने र पुलमुनिबाट सवारी लैजाने व्यवस्था भए कोटेश्वरको जाम ३५ प्रतिशत जाम कम गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले दुर्घटना न्यूनीकरण गर्न चालक सहचालकलाई ट्राफिक नियमसम्बन्धी चेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष विजयबहादुर स्वाँरले सवारी दुर्घटना न्यूनिकरण गर्न सरकारले प्राथमिकता दिनुपर्ने औल्याउँदै उहाँले सबैले ट्राफिक नियम पालना गरे दुर्घटना आफै कम हुने बताउनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले समुदायको सहयोगविना दुर्घटना न्यूनीकरण चुनौती नै बन्ने बताउनुभयो । उहाँले सडकमा राती ट्रिपर र ट्रक देखेपछि साना सवारीसाधन र पैदलयात्री भाग्नुपर्ने अवस्था आउनु बिडम्वना भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमली, भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बा, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति लगायतले दिउँसोको समयमा ट्रक चलाउन नदिएर उद्योग धरासायी बनाएको आरोप लगाउनुभयो ।
दिउँसोको समयमा उपत्यका भित्र ट्रक तथा ट्रिपर गुडाउन निषेध गर्दा व्याबसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिप्पर ब्यवसायीहरुले निषेध खारेज गर्न सरकारसंग उनीहरुले माग गरे ।यसो गर्दा सवारी चालकलाई आरामको समय समेत नमिल्ने दिउँसोभर सामानको खोजी गर्नुपर्ने, रातीमा ढुवानी गर्नुपर्ने र राती नै फर्कनु पर्ने बाध्यताले व्याबसायी, उपभोक्ता मारमा परेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका ट्रक, ट्रिपर तथा हेभि ईक्युपमेन्ट का बर्गीय संयोजक समेत रहेका नबिन प्रजापतिले बताउनुभयो ।











प्रतिक्रिया