अमेरिकामा अन्टार्कटिकाभन्दा चिसो, ध्रुवीय हिमआँधीका कारण ८ को मृत्यु



सिकागो, (एजेन्सी)
आर्कटिक ब्लास्टका कारण अमेरिकामा भीषण हिमपात भइरहको छ। धु्रवीय हिमआँधीका कारण १० भन्दा बढी शहरमा चिसो बढेको छ। भीषण ठन्डाका कारण विभिन्न इलाकामा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ।

यसबीच सिकागोको तापमान माइनसमा ३० डिग्रीसम्म गिरावट आएको छ। नर्थ डेकोटामा तापक्रम शूून्यभन्दा तल माइनस ३७ डिग्रीमा झरेको छ। सिकागोमा रेल सुचारु गर्न रेलमार्गमा आगो बाल्नुपरेको छ।

यसअघि पहिले सिकागोमा ११ पटक तापक्रम सुन्यबाट तल झरेको थियो। सबैभन्दा कम तापक्रम सन् १९८५ जनवरी २० मा माइनस २७ डिग्री सेल्सियस पुगेको थियो। जाडोको मामिलामा सिकागोले अन्टार्कटिकालाई पनि पछाडि पारेको छ, जहाँ कयौं इलाकामा तापक्रम माइनस २० वा त्योभन्दा माथि नै हुने गरेको छ। चिसो हावाका कारण सिकागोका बासिन्दा माइनस ५० डिग्रीको चिसो अनुभव गरिरहेका छन्। सिकागो र मिडवेस्ट इलाकामा सबै स्कुल र कलेज बन्द गरिएका छन्।

यसबीच मिनियापोलिसमा तापक्रम माइनस २८ डिग्रीसम्म तल झरेको छ। यहाँ चिसोले १ सय वर्षको कीर्तिमान तोड्ने निकट पुगेको छ। १० राज्य इलिनोइज, आयोवा, मिनिसोटा, नर्थ डेकोटा, साउथ डेकोटा, विस्कोन्सिन, कान्सस, मिसौरी र मोन्टानामा भीषण चिसो बढेको छ। नागरिकलाई घरबाट बाहिर ननिस्कन भनिएको छ। राष्ट्रिय मौसम विभागले ट्विटमा भनेको छ, स्थिति अत्यन्त खतनाक छ। यदि तपाई बाहिर हुनुहुन्छ र तपाईको शरीरको कुनै हिस्सा खुला छ भने ५ मिनेटमा फास्र्टबाइट, हिउँले खाने खतरा रहन्छ। तापक्रम माइनस ७० सम्म गिरावट आउन सक्छ। बाहिर रहने समय निर्धारित गर्नु नै तपाईका लागि राम्रो हुनेछ।

बिहीबार अमेरिकामा करिब ३ हजार उडान रद्द भएको सन्चारमाध्यमहरुले जनाएका छन्। सिकागोमा मात्र १ हजारभन्दा धेरै उडान रद्द भएका छन्। यसअघि बुधबार अमेरिकाका पाँच राज्यमा २ हजार ७ सय उडान रद्द भएको थियो र सबैभन्दा बढी सिकागोमा १ हजार ५ सय उडान रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्