‘उत्तर कोरियाले पारमाणविक हतियार त्याग्ने सम्भावना न्यून’



वासिङ्टन, (एजेन्सी)
राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको बलियो आशाको बाबजुद पनि उत्तर कोरियाले पूर्णरूपमा पारमाणविक हातहतियार त्याग्ने सम्भावना कमै रहेको प्रतिवेदन अमेरिकी गुप्तचर निकायले सार्वजनिक गरेको छ।

विश्वव्यापी खतरा मूल्यांकन प्रतिवेदनले इरानले पनि पारमाणविक हातहतियार कटौती कार्यमा गम्भीरता नदेखाएको र चीन तथा रसियाका तर्फबाट सावर खतरा बढ्दै गइरहेको पनि जनाएको छ।
उक्त गुप्तचर निकायले चीन र रसिया दुवैले अमेरिकाको आगामी सन् २०२० को चुनाव प्रभावित गर्न खोजिरहेको पनि जनाएको छ। राष्ट्रिय गुप्तचर निर्देशक डान कोट्स र अन्य वरिष्ठ गुप्तचर अधिकारीहरुले सो प्रतिवेदन मंगलबार अमेरिकी सिनेटमा पेस गरेका हुन्।

सो प्रतिवेदनमा उल्लेख गरिएको छ– ‘उत्तर कोरियाले आफ्नो पारमाणविक हातहतियार भण्डार र उत्पादन क्षमता त्यग्ने छाँट छैन। त्यसैले अमेरिका र अन्तर्राष्ट्रिय जगत्बाट केही छुट हासिल गर्न आंशिकरूपमा केही हतियार कटौती गर्न सक्नेछ।’

गत वर्षको १२ जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण गर्नेबारे भएको वार्तामा सहमति भएको थियो। तिनीहरुबीच आगामी फेब्रुअरीमा भियतनाममा दोस्रो चरणको वार्ता हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्