भारतमा लोकसभा चुनावअगाडि साम्प्रदायिक हिंसा भड्किन सक्छ: अमेरिकी गुप्तचर



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका गुप्तचर प्रमुखले देशका सांसदहरुलाई मेमा हुन गइरहेको भारतको लोकसभा चुनावअगाडि साम्प्रदायिक तनाव हुन सक्ने जानकारी दिएका छन्।

नेसनल इन्टेलिजेन्सका डाइरेक्टर डेन कोट्सले अमेरिकी सिनेट सेलेक्ट कमिटीलाई दिएको लिखित बयानमा भनेका छन्– ‘भाजपाले यदि राष्ट्रवादी मुद्दामा जोड दिइरहेमा भारतमा संसदीय चुनावअगाडि साम्प्रदायिक हिंसा भड्किन सक्छ।’

कोट्सको यो बयान अमेरिकी गुप्तचर टोलीको प्रतिवेदनमा समावेश गरिएको छ। उक्त प्रतिवेदन सन् २०१९ मा विश्वभरि हुन सक्ने खतराको आकलनका रूपमा तयार गरिएको हो। विश्वभरि आउन सक्ने खतराको सम्भावनामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्न उनी सेलेक्ट कमिटीसमक्ष कोट्स उपस्थित भएका थिए। सिनेटको उक्त बैठकमा भारत भ्रमण गरी फर्केकी सीआईएकी निर्देशक गिन हेस्पेल पनि उपस्थित थिइन्।

कोट्सले समितिलाई भने– ‘मोदीको कार्यकालमा भाजपाका केही नीतिले केही पार्टीद्वारा शासित राज्यमा साम्प्रदायिक तनाव गहिरिएको छ। हिन्दू राष्ट्रवादी अभियान व्यापक भइरहेको छ। आफ्ना समर्थकलाई उत्तेजित गर्नका लागि निम्नस्तरमा हिंसा भड्काउन सकिनेछ।’

साम्प्रदायिक संघर्ष बढ्नुले भारतीय मुसलमान अलग हुन बाध्य हुनुपर्ने स्थितिप्रति कोट्सले सचेत गराएका छन्। यसले इस्लामिक कट्टरपन्थी समूहलाई भारतमा आफ्नो प्रभाव बढाउने अवसर प्राप्त हुनेछ।

कम्तीमा चुनाव नभएसम्म सीमापार आतंकवाद र सम्बन्धमा तनाव जारी रहन सक्ने उनले बताए। कोट्सले भने– ‘कम्तीमा सन् २०१९ मेसम्म सीमापार आतंकवाद, नियन्त्रण रेखामा अन्तरसीमा गोलाबारी, विभाजनकारी आम चुनाव र इस्लामावादको अमेरिका र भारतलाई लिएर नीतिले दुई छिमेकी देशबीच तनाव बढाउनमा योगदान पु¥याउनेछ।’ भारत र चीनसँगको सम्बन्धका विषयमा कोट्सले सन् २०१७ मा सीमामा तनावपछि दुवै पक्ष सम्बन्ध सुधारका लागि प्रयासरत देखिएपछि उनीहरुबीचको सम्बन्ध तनावपूर्ण हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्