टेलिकमको फोरजी एक वर्षभित्र सम्पन्न गर्न निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं
संघीय संसदको अर्थ समितिले नेपाल टेलिकमले विस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागतमा घटाउँदै ठेक्का एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ।

अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी कम लागत, गुणस्तरीय र छिटो गर्नको लागि समितिले बोलपत्रको नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको हो। समितिले फोरजी सेवा विस्तारको लागि सम्झौता भएको मितिले १२ महिनाभित्र मुलुकभर सेवा प्रवाह सुचारु गर्ने बाटो पहिल्याउँदै आधार तय गर्न निर्देशन दिएको छ।

फोरजी सेवा विस्तारबाट आगामी ५ वर्षमा नेपाल टेलिकमको आर्थिक अवस्थामा सुधार आएर सरकारको राजस्वमा पनि वृद्धि गर्न सकिने ‘विजनेस प्लान’ बनाएर अगाडि बढ्नसमेत समितिले निर्देशन दिएको छ। सेवा विस्तारमा भइरहेको प्रगति, समस्या, चुनौतिको विषयमा विज्ञसहितको टोलीसँग समितिले छलफल गरेको थियो। छलफलमा विज्ञहरूले फोरजी सेवाको विस्तार द्रुत गतिमा गर्दै जानुपर्ने सुझाव दिएका थिए। टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभएको छ। काम शुरू भएपछि कुनै पनि बाधा नआए तोकिएकै समयमा काम सकिने अधिकारीको भनाइ छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कुनै व्यक्तिको लहडमा फोरजी टेन्डर नभएको भन्दै कानुनअनुसार नै टेन्डर पारेको कम्पनीलाई दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्