पोखरिया अस्पतालको कन्तबिजोग

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज
पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा एक महिना अघिदेखि एक्सरे मेसिन बिग्रिएको छ। एक्सरे मेसिन बिग्रिएका कारण अस्पतालबाट प्रदान हुँदै आएको एक्सरे सेवा प्रभावित भएको छ। अस्पतालबाट सहुलियतमा पाउँदै आएको एक्सरे सेवा नपाउँदा सेवाग्राही मर्कामा परेका छन्।

अस्पतालमा उपचारका लागि पुगेका बिरामी एक्सरे गराउन निजी स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्। निजी स्वास्थ्य संस्थामा अस्पतालको भन्दा बढी शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। अस्पतालले १ सय ५० रुपियाँमा दिइरहेको सेवाका लागि निजी क्लिनिकहरूले २ सयदेखि २ सय ५० रुपियाँ शुल्क लिने गरेका छन्। अस्पतालमा ५ देखि १० वटा एक्सरे दैनिक हुने गरेको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। अनिल यादवले एक्सरे मेसिन मर्मतका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए। ‘एक्सरे मेसिन बिग्रिएकाले एक महिनादेखि एक्सरे सेवा ठप्प छ। मैले विभागमा जानकारी गराएँ, दुई पटक प्राविधिक आएर हेरेर गइसक्नुभएको छ’, उनले भने– ‘के बिग्रिएको हो भनेर पत्ता लाग्न सकेको छैन।’ अस्पतालमा पुरानो एक्सरे मेसिन भए पनि विभागको निर्देशनविना आफूले त्यसको सञ्चालन गर्न नसक्ने उनको भनाइ छ। पर्साको ग्रामीण क्षेत्रमा रहेको एक मात्र सरकारी अस्पताल पोखरीया अस्पतालमा पोखरीयाबाहेक आसपासका पालिकाका बासिन्दा पनि उपचारका लागि आउने गरेका छन्।

भौतिक संरचनायुक्त भए पनि अस्पतालमा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरणको अभावका कारण रिफरल अस्पतालको रुपमा परिचित छ। पर्सा जिल्लाको मध्य भागमा पर्ने र जिल्लाको धेरै ग्रामीण क्षेत्रका लागि पायक पर्ने १५ बेडको पोखरीया अस्पतालको ओपीडीमा दैनिक १ सय जना जति बिरामी उपचारका लागि आउने गरेका छन्।

Skip This