भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि अमेरिकी प्रतिबन्ध



काराकास, (एजेन्सी)
अघिल्लो दिन मात्र भेनेजुएलाका विपक्षी नेता खुआन गोइदोलाई कुनै तल–माथि गरेको खण्डमा भेनेजुएलाको सरकारलाई कडा काराबाही गर्ने चेतावनी दिएको संयुक्त राज्य अमेरिकाले मंगलबार अन्ततः भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभएिसएमाथि प्रतिबन्ध लगाएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ।

साथै अमेरिकाले विपक्षी नेता गोइदोलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति निकोलस माडुरो र उनका सहयोगीहरुले अब भेनेजुएलाका जनताको सम्पत्ति लुट्न नसक्ने चेतावनी दिएका छन्।
केही समययता भेनेजुएला गम्भीर आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ। अमेरिका र केही युरोपेलीलगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा स्वीकारी सकेका छन्।

अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अब भेनेजुएलाको तेल बिक्रीबाट उठेको पैसा माडुरोको सरकारसम्म नपुग्ने बताएका छन्। उनले गोइदोलाई देशको नेता मानेको खण्डमा तेल कम्पनीमाथिको प्रतिबन्धबाट बच्न सक्ने विकल्प पनि प्रस्तुत गरेका छन्।

उनले अमेरिकास्थित सहायक तेल कम्पनी सिगटाले आफ्नो कामलाई निरन्तरता दिन सक्ने तर यसका लागि अमेरिकामा सुरक्षित खातामा पैसा जम्मा गर्नुपर्ने सर्त पनि अघि सारेका छन्।

भेनेजुएला आफ्नो तेल बिक्रीका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ। भेनेजुएलाले आफ्नो कुल वार्षिक तेल उत्पादनमध्ये ४१ प्रतिशत अमेरिकालाई निर्यात गर्ने गरेको छ।

साथै भेनेजुएला अमेरिकालाई कच्चा तेल उपलब्ध गराउने विश्वको चार सबैभन्दा ठूला तेल उत्पादक मुलुकमध्ये एक हुन्।

यसैबीच विपक्षी नेता गोइदोले भेनेजुएला कंग्रेसलाई सरकारी तेल कम्पनी पीडीभीएसए र सहायक कम्पनी सिटगोमा नयाँ प्रमुखको नियुक्ति गर्न माग गरेका छन्। गोइदो देशको तेल सम्पत्तिबाट हुने कमाइ आफ्नो नियन्त्रणमा लिन चाहन्छन्।

गोइदोले राष्ट्रपति निकोलस माडुरोमाथि गत वर्ष सम्पन्न आम चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन्।

यसै महिना मात्र राष्ट्रपति माडुरोले दोस्रो राष्ट्रपतीय कार्यकालका लागि शपथ ग्रहण गरेका थिए। तर। विपक्षी राजनीतिक समूहले चुनावमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। त्यसलगत्तै विपक्षीका नेता खुआन गोइदोको अपिलअनुसार भेनेजुएलामा विशाल जनप्रदर्शन शुरू भएको थियो।

विपक्षीे समूह माडुरोलाई कुनै पनि हालतमा अपदस्थ गर्ने प्रयासमा लागिपरेको अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरुले बताएका छन्। तर रुस, चीन, मेक्सिको र टर्कीले खुलेरै माडुरोको समर्थन गरिसकेका छन्।

विषम राजनीतिक र आर्थिक परिस्थिति चुलिँदै गएकाले अहिलेसम्म दसौं लाख जनता भेनेजुएला छोडेर छिमेकी मुलुक प्रवेश गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्