मानवअधिकारवादी वकिललाई जेल सजाय



बेइजिंग (एजेन्सी)
चीनले चर्चित मानव अधिकारवादी वकिल वाङ क्वाङ झाङलाई राष्ट्रघात गरेको अभियोग लगाउँदै सोमबार साढे चार वर्ष लामो काराबास सजाय सुनाएको छ। ४२ वर्षीय वाङले राजनीतिक अभियन्ता र जबर्जस्ती भूमि छिनिएकाको पक्षमा वकालत गर्दै आएका थिए।

साथै उनले चीनका प्रतिबन्धित आध्यात्मिक सम्प्रदाय फालुन गोङका अनुयायीलाई पनि आवश्यक कानुनी सहयोग गर्दै आएका थिए। सन् २०१५ मा तीव्र सरकारी दमनको क्रममा पक्राउमा पर्ने मानव अधिकारवादी वकिल र अभियन्तामध्ये वाङ पनि एक हुन्।

तर, मुद्दा चलाइने उनी पछिल्ला व्यक्ति भएका छन्। केही वर्षयता चीनले अधिकारवादी अभियन्तामाथि कडा रबैया अपनाउँदै आएको छ। तान्जिनस्थित अदालतले वाङविरुद्ध काराबास सजाय सुनाउने क्रममा उनीमाथि आगामी ५ वर्षसम्म कुनै पनि राजनीतिक गतिविधिमा समेत लाग्न नपाइने गरी प्रतिबन्ध लगाएको जनाइएको छ।

उनीमाथि मुद्दाको कारबाही अघि बढिरहँदा पत्रकार र विदेशी कूटनीतिज्ञहरूलाई अदालत प्रवेशमा रोक लगाइएको थियो। वाङले सुनुवाइको क्रममा आफ्नो लागि सरकारले नियुक्त गरेको वकिललाई अस्वीकार गरेको बुझिएको छ। वाङकी पत्नी ली वेन्जुलाई पनि मुद्दाका बेला अदालतमा प्रवेश गराइएको छैन। बरु उनलाई बेइजिङस्थित उनको निवासबाट समेत बाहिर आउन दिइएको थिएन।

 

प्रतिक्रिया दिनुहोस्