होटलमा मजदुरलाई २ करोड १० लाख क्षतिपुर्ति



वासिंगटन (एजेन्सी)
अमेरिकाको एक होटलमा भाँडा सफा गर्ने एक महिलालाई २ करोड १० लाख डलरको क्षतिपुर्ती दिन आदेश दिएको छ । होटलले महिलालाई आइतबार चर्च जान नदिई काममा बोलाएको थियो । ती महिलाले धार्मिक भावनालाई आघात पुर्याएको आरोप लगाएकी थिइन् ।

मेरी ज्याँ पियरेले कोनराड मिरामी होटलमा करिब ६ बर्ष काम गरेकी थिइन् । सन् २०१५ मा उसको भान्छा ब्यवस्थापकले मेरीलाई आइतबार काम गर्न आउन बोलाउने गरेको थियो । होटल ब्यवस्थापकले उक्त आरोप स्विकार गरेको छ । कोनराड होटल, हिल्टन समुहको हिस्सा हो ।

मेरी एक क्याथोलिक मिसनरी समुह सोल्जर्स अफ क्राइस्ट चर्चका सदस्य हुन् । उक्त समुह गरिबलाई मद्दत गर्छ । मेरीले दायर गरेको मुद्दामा आफ्नो धार्मिक मान्यता विपरित आइतबार होटलमा काम गर्न असमर्थ रहेको दावी गरेकी थिइन् ।

तर पार्क होटल्स एन्ड रिजोर्टसले मायामी अदालतमा मेरिलाई आइतबार किन छुट्टी चाहिएको हो भन्ने विषयमा कुनै जानकारी नभएको बताए ।

सुरुमा मेरीलाई आइतबार छुट्टी लिन आफना सहकर्मीहरुसँग सिफ्ट बदल्न अनुमति दिएको थियो । उनको छुट्टीका सम्बन्धमा होटल प्रबन्धनले मेरीका पादरीको सिफारिस पत्र मागेका थिए । यसबीच सन् २०१६ मा मेरीलाई खराब काम गरेको आरोपमा कामबाट निकालियो ।

सन् २०१७ मा मेरीले सिविल राइट्स एक्ट १९६४ को उलंघन भएको उल्लखे गर्दै मुद्दा दायर गरेकी थिइन् । उक्त नियम अन्तरगत कुनै पनि काममा जाति, धर्म, रंग, लिंग र राष्ट्र्यिताको आधारमा भेदभावलाई प्रतिबन्धित गरिएको छ ।

अदालतले मेरीको दावी सही पाएपछि उनलाई २ करोड १० लाख अमेरिकी डलर मुआब्जा दिन आदेश दिएको हो । आदेशमा अदालतले होटल प्रबन्धकलाई थप ३५ हजार डलर र मानसिक पिडा दिएकोमा ५ लाख डलर थप अतिरिक्त जरिवाना तिर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्