भेनेजुयलाको मामिलामा अमेरिका टाढा रहनुपर्छ ः तुलसी गब्बार्ड



वासिंगटन काराकास, (एजेन्सी)
भेनेजुयालाका राष्ट्रपति निकोलस माडुरो विरुद्ध ४ दिन अगाडि शुरु भएको प्रदर्शनमा २६ जनाको मृत्यु भइसकेको छ। काराकासस्थित अब्जरभेटरी अफ सोसल कन्प्mिलक्टले माडुरोको विरोधमा सैनिकहरुको एक समूहद्वारा राजधानीको उत्तरस्थित चौकी कब्जा गरेपछि शुरु भएको प्रदर्शनमा मारिनेहरुको संख्या १६ बाट बढेर २६ पुगेको जनाएको छ।

प्रदर्शनकारीहरुमाथि नियन्त्रण गर्न सैन्य बलले केही स्थानमा अश्रुग्यास र रबरको गोली प्रहार गरेका थिए। केही प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए।

यसैबीच अर्का राष्ट्रपति पदका उम्मेदवार तुलसी गब्बार्डले अमेरिका भेनेजुयला मामिलाबाट टाढा रहनुपर्ने बताएकी छिन्। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोलाई पदमुक्त गर्न समर्थन जनाउँदै विपक्षी दलका नेता जुआन गुएडोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएको थियो।

३७ वर्षीय गब्बार्ड अमेरिकी कांग्रेसमा चुनिएका पहिलो हिन्दू हुन् र हालै मात्र उनले सन् २०२० मा राष्ट्रपति पदका लागि हुने चुनावमा उम्मेदवार बन्ने प्रयास गर्ने घोषणा गरेकी थिइन्।
गब्बार्डले बिहीबार एक ट्विटमा भनिन्– ‘अमेरिकालाई भेनेजुयलाबाट टाढा रहन आवश्यकता छ। भेनेजुयलाका नागरिकलाई आफ्नो भविष्य आफैं निर्धारित गर्न दिनुपर्छ। हामी हाम्रो देशमा अरू कसैले नेता चयन गरोस् भन्ने चाहँदैनौं, त्यसैगरी हामी उनको नेता चयन गर्ने प्रयास गर्नुहुँदैन।’
गब्बार्डले विदेशमा हस्तक्षेप गर्ने अमेरिकी नीतिको विरोध गर्दै आइरहेकी छिन्। त्यसैगरी उनी अन्य देशमा अमेरिकी सैनिकको तैनाथको पनि विरोध गर्छिन्।

भेनेजुयलामा विगत २५ वर्षमा ३ पटक सरकार अपदस्थको प्रयास भइसकेको छ। तर हालैका दिनमा देशको इतिहासमै सबैभन्दा ठुलो राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको स्थितिमा सेनाको भूमिकामा सबैको ध्यान खिचेको छ।

सेनाले राष्ट्रपति निकोलस माडुरोलाई साथ दिइरहन्छ वा विपक्ष नेता जसले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरिसकेका जुआन गुएडोलाई साथ दिन्छ भन्नेमा प्रश्न महŒवपूर्ण बनेको छ। देशका रक्षामन्त्री भ्लादिमिर पेड्रियानो लोपेजले सेनाले धोका नदिने बताउँदै गुएडोको आलोचना गरेका छन्। उनले ट्विटमा देशको सेनाले कानुनको दायराबाट बाहिर गई आफैंलाई राष्ट्रपति बनाउने व्यक्तिलाई आफ्नो राष्ट्रपति नमान्ने जनाएको छ।

भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोका राजीनामा माग गर्दै भइरहेको विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। विपक्षी नेताले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ७ वटा ल्याटिन अमेरिकी देशले त्यसलाई मान्यता दिइसकेको छ। तर रुस र चीन भने वर्तमान राष्ट्रपति माडुरोको पक्षमै उभिएका छन्।

गुएडोलाई अमेरिकालगायत क्यानाडा, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना, पेरु, चिलीजस्ता देशले समर्थन गरेका छन्। युरोपेली संघले पनि भेनेजुयलामा पुनः चुनाव गराउन माग गर्र्दै गुएडोको नेतृत्वमा रहेको नेसनल एसेम्ब्लीलाई आफ्नो समर्थन दिएको छ।

प्रतिक्रिया दिनुहोस्