सुडानमा ऐतिहासिक विरोध प्रदर्शन



मृतकको संख्या तीस
खार्तुम, (एजेन्सी)
सुडानमा सरकारविरुद्ध बिहीबार भएको व्यापक विरोध प्रदर्शनका कारण तीनजना मानिसको ज्यान गएको तथा सुडानका विभिन्न शहरमा आन्दोलन फैलिँदै गएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

सेन्ट्रल कमिटी अफ सुडान्स डक्टर्स अर्गनाइजेसन नामक एक संस्थाले यस प्रदर्शनमा अहम भूमिका निभाइरहेको छ। प्रहरीले गत १९ डिसेम्बरदेखि प्रदर्शन शुरू भएयता ३० जनाको ज्यान गइसकेको जनाएको छ।

तर मानव अधिकारवादी समूहहरुले भने मृतकको संख्या अझै बढिरहेको दाबी गरिरहेका छन्। आन्दोलनका नेताहरुले शुक्रबार सबै मानिसलाई सार्वजनिक स्थानमा प्रार्थना गरी सरकारलाई निहुँ खोज्ने काम गर्न आह्वान गरेका छन्।

डक्टर्स ग्रुपले पछिल्लो समयमा मारिनेमा दुईजना विश्वविद्यालयका विद्यार्थी रहेको र तीमध्ये एकजनाको छातीमा गोली लागेको तथा अर्कोलाई सुरक्षाकर्मीहरुले नराम्ररी पिटेर मारेको दाबी गरेको छ। सुडानको इतिहासमा पहिलोपटक त्यति ठूलो संख्यामा बिहीबार सरकारविरुद्ध सडकमा ओर्लेको बताइएको छ। इन्धन र रोटीको मुल्यवृद्धिलाई लिएर यो विराध आन्दोलन शुरू भएको हो। तर केही दिन यता प्रदर्शनकारीहरुले विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बासिरको राजीनामाको समेत माग गर्न थालेका छन्।

सरकारी फौजले प्रदर्शनलाई दमन गर्ने क्रममा गोली र अश्रुग्यास प्रहार र गिरफ्तारी नीति अंगालेको छ। सयौं संख्यामा विपक्षी राजनीतिक पार्टीका कार्यकता र पत्रकारहरु पक्राउमा परेका छन्। त्यसै गरी केही अन्तर्राष्ट्रिय पत्रकारहरुको परिचयपत्र रद्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्