परराष्ट्र नीति निर्माण गर्न सुझाव

0
Shares

काठमाडौं, (नेस)
नेपालका पूर्वपरराष्ट्र मन्त्रीहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ। ललितपुरस्थित पुल्चोकमा नेपाल विश्व सम्बन्ध परिषद्को आयोजनामा सम्पन्न ‘वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र नीति’ नामक एक कार्यक्रममा पूर्वपरराष्ट्र मन्त्रीहरूले नेपालको परराष्ट्र नीति अन्य मुलुकको नीतिसरह सबल र दरिलो बनाउन आवश्यक रहेको बताउनुभएको छ।
उहाँहरूले बलियो परराष्ट्र नीति बनाउनका लागि राष्ट्रिय चाख र कौतूहलताका विषयलाई अघि सार्नुपर्ने बताउनुभयो। कार्यक्रममा पूर्वपरारष्ट्रमन्त्री प्रकाशशरण महतले राष्ट्रिय हित सर्वोपरि राखेर मात्र नीति अपनायौं भने विश्व समुदायले नेपाललाई राम्रो दृष्टिकोणले हेर्ने जानकारी दिनुभयो।
यस्तै पूर्वपरराष्ट्रमन्त्री डा। प्रकाशचन्द्र लोहनीले मुलुकको राजनीति, संस्कार, आर्थिक अवस्था र सुरक्षालाई ध्यानमा राखी अघि बढ्दा देश उन्नतितर्फ लम्किने बताउनुभयो। उहाँले भन्नुभयोे– ‘वर्तमान अवस्थामा नेपालको परराष्ट्रनीति तर्जुमा गर्दा लम्पसार परेर होइन छिमेकीलाई नचिढाउने गरी तय गर्नुपर्छ, बोल्नेभन्दा पनि काम गरेर अगाडि बढ्नुपर्छ।’

यसै गरी पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालले दरिलो विदेश नीति निर्माण गर्न पञ्चशीलको सिद्धान्तलाई आधार मानी राष्ट्रिय सीमासुरक्षामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै पूर्वराजदूत डा। शम्भुराम सिंखडाले नेपालले छिमेकीलाई विनाप्रतिस्पर्धा विकासका काम दिएको र अन्य देशले प्रतिस्पर्धा गर्नुपर्ने जानकारी दिनुभयो। यसका साथै नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपालमा सबल परराष्ट्र नीति निर्माण गर्न सदैव यहाँको संस्कृति र पर्यटनलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो।

मन्त्रीहरूले वैदेशिक लगानी भित्र्याउन राजनैतिक हस्तक्षेप हुनु नहुने, पारदर्शिता अपनाउने र कानुनी व्यवस्थाको कार्यान्वयन गर्न, विदेशी लगानीकर्ताले कमाएको मुनाफा फिर्ता लान कुनै झन्झट नहुने भएमा लगानीको उपयुक्त वातावरण बनी राष्ट्र विकास र समृद्धतर्फ अगाडि बढ्न सक्ने विचार व्यक्त गर्नुभयो।

Skip This