भेनेजुयला राजनितिक संकट



काराकास/वासिङटन (एजेन्सी)
भेनेजुयलामा सरकार विरुद्ध प्रदर्शन भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता जुआन गुएडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । सरकार विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाले ज्यान गुमाइसकेको बताइएको छ ।

भेनेजुयलामा हजारौं नागरिक वर्तमान राष्ट्रपति निकोलस माडुरो विरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । जुआन गुएडोे विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् । बुधबार उनले काराकासमा आफैलाई देशको ‘कार्यकारी राष्ट्रपति‘ घोषित गरेका थिए ।

यसै महिना सुरुआतमा निकोलस माडुरोले राष्ट्रपतिका रुपमा आफनो दास्रो कार्यकालको सपथ लिएका थिए । हालै सम्पन्न चुनावमा उनीमाथि मतदानमा धाँधली गरेको आरोप लागेको थियो ।
उनको नेतृत्वमा विगत कयौं बर्षदेखि भेनेजुयला आर्थिक संकटसँग लडिरहेको छ । मृल्यबृद्धी र खाना तथा औषधीको कमीका कारण लाखौं नागरिक भेनेजुयलाबाट पलायन पनि भइसकेका छन् ।

वासिङटनद्वारा विपक्षी जुआन गुएडोलाई राष्ट्रपतिको मान्यता

अमेरिकासँग सबै सम्बन्ध तोडेका घोषणा
यसैबिच भेनेजुयलाका राष्टपति माडुरोले अमेरिकासँगको सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । विपक्षी नेता जुआन गुएडोलाई अन्तररिम राष्ट्रपतिका रुपमा अमेरिकाले मान्यता दिएपछि माडुरोले उसँगको सबै सम्बन्ध तोडेको हो ।
माडुरोले अमेरिकी राजदुतलाई देश छोड्ने मात्र ७२ घण्टाको समय दिएको छ । विरोध प्रदर्शनस्थलबाटै गुएडोले आफुलाई राष्टपति घोषणा गरेपछि अमेरिकाले पुर्व राष्ट्रपति माडुरोसँग अब कुनै अधिकार नभएको बताएको थियो । अमेरिकाले सेनालाई गुएडोको समर्थन गर्न अपिल गरे ।

यद्यपी अहिलेसम्म सेना माडुरोकै साथमा छन् । अमेरिकाले जारी गरेको विज्ञप्तीमा माडुरोको नतृत्व नाजायज भएको उल्लेख गरेकोछ । ‘भेनेजुयलाका नागरिकले आफनो कुरा त्यहाँको माडुरो सरकार विरुद्ध राखेका छन् । उनीहरु माडुरो सरकारबाट स्वतन्त्र हुन चाहेका छन् । ‘

यदि माडुरो सरकार नागरिक सुरक्षासँग खेलवाड गर्छ भने उमाथि कडा प्रतिबन्ध लगाउन सक्ने अमेरिकाले चेतावनी दिएको छ । सात दक्षिण अ‍ेमरिकी देश ब्राजिल, कोलम्बिया, चिलि, पेरु, इक्वेडर, अर्जेन्टिना र पाराग्वेले जुआन गुएडोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् । ती बाहेक क्यानाडले पनि उनलाई समर्थन दिइरहेको छ । युरोपेली युनियन स्वतन्त्र चुनावको पक्षमा छ ।

द अर्गनाइजेसन अफ अमेरिकन स्टेटले पनि गुएडोको राष्ट्रपति पदको दावेदारीलाई समर्थन गरेको छ । यद्यपी सन् २०१७ मा भेनेजुयला उक्त संगठनबाट अलग भइसकेकोछ ।


तर मेक्सिको, बोलिभिया र क्यबाले माडुरोलाई समर्थन गरेका छन् ।
निकोलस माडुरोले अमेरिकामाथि भेनेजुयलालाई नियन्त्रण गरेको आरोप लगाएका छन् । उनले विपक्षीमाथि सत्ताच्युतको प्रयास गरेको पनि आरोप लगाएका छन् ।

को हुन जुआन गुएडो ?
जुआन गुएडो यसै महिना सांसदमा विपक्षका नेता बनेका हुन् । यसअघि सम्म उनी विश्वका लागि अपरिचित नाम थिए । बुधबार विरोध प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले उसँग नयाँ चुनाव नभएसम्म अन्तरिम राष्ट्रपति बन्ने संवैधानिक अधिकार भएको बताएका थिए ।

भेनेजुयलामा विपक्षले सन् २०१५ मा चुनावमा जित हासिल गरेको थियो तर सन् २०१७ मा माडुरोले एक संविधानसभाको गठन गरे, जुन विधायिका भन्दा धेरै शक्तिशाली थियो ।

विद्यार्थीकाल मै गुएडोले ह्युगो चाभेज विरुद्ध प्रदर्शन गरेका थिए । ह्युगो चाभेजले नै निकोलस माडुरोलाई आफनो उत्तराधिकारीका रुपमा चयन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्