सरकारको प्रेस विरोधी रबैया काँग्रेसले सहन्नः देउवा



नेपाल समाचारपत्र, लमजुङ ।
कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेस विरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताउनु भएको छ । देउवाले नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनको उदघाटन गर्दै त्यस्तो धारणा व्यक्त गर्नु भएको हो ।
उहाँले नेपाल सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरेमा सरकारका बिरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ ।

ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको बताउँदै देउवाले प्रेसदेखि कर्मचारीतन्त्रसम्म सरकार हस्तक्षेप गर्न लागि परेको दावी गर्नु भयो । देउवाले भन्नुभयो, ‘सरकार सबै क्षेत्रको हस्तक्षेप गर्दै कन्ट्रोल गर्न खोजेको छ, यस्तै रहे सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलनमा उत्रिन्छौं ।’

सरकार अराजक शैलीमा उत्रनु मुलुकका लागि दर्भाग्य भएको बताउँदै कांग्रेस सदैव स्वतन्त्र प्रेसस्वतन्त्रको पक्षमा रहेको छ, रहिरहने छ, त्यसमा हुने हस्तक्षेप स्वीकार्य हुँदैन, हामी सहन्नौँ । उहाँले भन्नुभयो, ‘हामी इन्डिपेन्डेन्ट ब्यूरोक्रेसीको पक्षमा छौं, यसमा हस्तक्षेप भएको हामी सहन्नौं, हामी जस्तोसुकै आन्दोलन गर्न पनि तयार छौं ।’

सही सूचना दिन पत्रकार लाग्नु पर्नेमा उहाँको जोड थियो । प्रेसका अंकुश लागेमा जनताको सुरक्षामा समेत प्रश्न उठ्ने उहाँले बताउनु भयो ।
अर्को एक प्रसङ्गमा अहिले देशमा हत्या हिंसाको घटनामा वृद्धि हुँदासमेत सरकार मुकदर्शक बनेको बताउँदै काँग्रेस सभापती देउवाले सरकारले निर्मला पन्तको हत्यारलाई बचाउन घटनामा भेटिएको सबै प्रमाण नष्ट गरेको छ भन्नुभयो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले वर्तमान सरकार लोकतान्त्रिक प्रणाली, संविधान, कर्मचारीमाथि हस्तक्षेप गरेर सर्वसत्तावाद लाद्ने प्रयासमा रहेको बताए । ओली सरकारले दुई तिहाईको सदूपयोग गर्न नसकेको भन्दै उनले भने, ‘स्थिरता र शान्ति हुँदाहुँदै सरकारले अवसरको सदूपयोग गर्न सकेन, ओली सरकार पूर्णतः असफल भएको छ ।’ नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देलले सरकार प्रेस स्वातन्त्रता विरोधी बनेको बताए । उनले भने अहिलेको सरकार सुचना लुकाउने षडयन्त्रमा लागेको छ ।

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य प्रकाशसरण महत, दिलबहादुर घर्ती, पूर्व राजइमन्त्री रामबादुर गुरुङ, पूर्वसहायक मन्त्री डा. रामचन्द्र अधिकारी, काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल सहितले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्