सेतो गुराँसकी संस्थापक थापा सम्मानित



प्रारम्भिक बालविकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापालाई करिब १ करोड ३० लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ । स्वीजरल्यान्डको जुरिचमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था ज्याकोब्स फाउन्डेसनले करिब चार दशकदेखि बालविकास क्षेत्रमा निरन्तर लागिरहनुभएकी थापालाई उक्त सम्मान गरेको थियो। उक्त संस्था बालबालिका तथा युवाहरूका लागि कार्यरत रहेको छ।

विसं २०३६ सालदेखि प्रारम्भिक बालविकासको क्षेत्रमा अहोरात्र लाग्नुभएकी थापालाई सम्भवतः बालविकासको क्षेत्रमा योगदान गरेबापत करिब १ करोड ३० लाख रुपियाँसहित सम्मान गरेको यो पहिलो हो। थापाले पाउनुभएको सम्मानको कदर गर्दै प्रारम्भिक बालविकासका लागि सांसदहरूको सहकार्य समूह ईसीडीले थापालाई सम्मान गरेको थियो।

सभामुख कृष्णबहादुर महराले थापालाई सम्मान गर्दै उहाँले बालविकासको क्षेत्रमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्नुभएको थियो। सम्मान गर्दै सभामुख महराले राज्यले बालबालिकाको हितका लागि गर्न नसकेको काम सेतो गुराँसले गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘अहिलेसम्म सेतो गुराँसले मात्र गरेको काममा अब सरकारले अहम् भूमिका खेल्नेछ।’ उहाँले बालबालिकाको सर्वाङ्गीण विकास गर्न कानुन निर्माण गर्न सरकारले सहयोग गर्ने बताउनुभयो।

सम्मान कार्यक्रममा बोल्दै महिला तथा बालिबालिकामन्त्री थममाया थापाले प्रारम्भिक बालविकासका लागि सेतो गुराँसले गरेको कामको प्रगतिको प्रशंसा गर्नुभएको थियो। उहाँले बालबालिकाको हितका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सम्मानित व्यक्ति थापाले आफूले पाएको सम्मान नेपालका बालबालिकाको भएको बताउनुभयो। ‘मेरो २०३६ सालदेखिको योगदानलाई विश्वले नै कदर गरेको छ। सम्मानले यो क्षेत्रमा काम गर्ने थप प्रेरणा मिलेको छ। सेतो गुराँस राष्ट्रिय फूल हुन सकेको छैन। देशका बालबालिकालाई थप सेवा गरी सेतो गुराँसलाई विश्वभर चिनाउनु हाम्रो दायित्व बनेको छ’, सम्मान कार्यक्रममा बोल्दै थापाले भन्नुभयो– ‘मैले पाएको यो सम्मान बालविकासका लागि खर्च गर्नेछु।’

सेतो गुराँसकी संस्थापक थापाले प्रारम्भिक अवस्थाका बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार तथा अवधारणाबारे एउटा सृजनशील सोच लिई विसं. २०३६ सालदेखि हालसम्मको अथक प्रयास, संयमता, प्रतिबद्धता र निरन्तर योगदानको परिणामस्वरूप प्रारम्भिक बालविकासको क्षेत्रमा अतुलनीय परिवर्तन र उपलब्धि हासिल गर्न महत्वपूर्ण योगदान रहेको ईसीडी ककसका अध्यक्ष सांसद सत्या पहाडीले बताउनुभयो।

सेतो गुराँस सन् १९९७ देखि मानवीय संसाधन विकास गर्ने क्रममा नेपालका ५९ जिल्लाबाट महिलालाई सहशक्तीकरण गर्ने उद्देश्यले समुदाय तहबाट नै प्रारम्भिक बालविकासको प्राविधिक सहयोग पु¥याउन २ सय ५३ जना स्रोतव्यक्तिलाई प्रशिक्षित गरी स्थानीय तहदेखि केन्द्रीय तहसम्म प्रारम्भिक बालविकासको पहुँच पु¥याउन समन्वयात्मक भूमिका खेल्ने संस्था हो। कार्यक्रममा सम्मानित थापाले अवार्डको प्राप्त रकमबाट ७ वटा प्रदेशमा प्रारम्भिक बालविकास नमुना केन्द्र सञ्चालन गर्ने
बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्