नेपाल समाचारपत्र, काठमाडौं
गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठकद्वारा १२ बँुदे कम्पाला घोषणापत्र २०१८ जारी गर्दै समापन भएको छ ।
घोषणापत्रले नेपालको पर्यटन, पूर्वाधारलगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकाले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बैठकले आग्रह गरेको छ ।
संघले नेपालबाट अफ्रिकी मुलुक हुँदै अवैधानिक रुपमा युरोप र अमेरिकामा छिर्ने लोभले मानव बेचबिखनको समस्या बढ्ेकोमा चिन्ता व्यक्त गर्द, युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नुपरेको जनाएको छ । संघले यो क्रम तत्काल रोक्नका लागि कडाइ गर्दै सचेतना कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
वैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका विमानस्थलमा त्यहाँका कर्मचारीले अनावश्यक दुःख गरेकोप्रति नेपाल सरकारको ध्यानकर्षण गराएको छ, वैधानिक रुपमा आउनेहरुलाई यसरी अनावश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
अफ्रिकाका विभिन्न मुलुकमा रोजगारी मात्र नभई लगानीकर्ता र विज्ञका रुपमा नेपालीको उपस्थिति बढिरहेको जनाएको संघले इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूतावास रहेकाले गर्दा अन्य मुलुकमा कार्यरत नेपालीको समस्या रहेकाले गर्दा पूर्वी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा एक एक वटा दूतावास खोल्नका लागि नेपाल सरकारसंग आग्रह गरेको छ । साथै अन्य मुलुकमा भने अवैतानिक महावाणिज्यदूत नियुक्त गर्नका लागि नेपाल सरकार समक्ष माग गरिएको छ ।
बैठकले नेपाल र अफ्रिकामा आपसी लगानीका पर्याप्त सम्भावना रहेकाले समन्वय तथा सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
अफ्रिकाका कतिपय मुलुक नेपालीका लागि रोजगारीको आकर्षक गन्तव्यका रुपमा सरकारी स्तरबाटै सहमति गरी रोजगारीमा पठाउने र रोजगारीमा जानेहरुको अधिकार सुनिश्चितता गर्नका लागि सरकारसँग माग गरेको छ ।
नेपाल सरकारलाई सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिन आग्रह गरिएको छ ।
अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा डिसेम्बर २९ र ३० मा सञ्चालन भएको थियो । बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १ सय ५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो ।











प्रतिक्रिया