महिला अधिकारवादी अभियन्तालाई छोड्ने आदेश



कायरो, (एजेन्सी)
इजिप्टको एक अदालतले सरकारले महिलामाथि हुने गरेका यौन दुव्र्यवहार रोक्न असफल भएको भन्दै आलोचना गर्ने महिला अधिकारवादी अभियन्ता अमाल फाथीलाई रिहाइ गर्न आदेश दिएको छ।
गत मे महिनामा आफ्ना अनुभवहरूमा आधारित भिडियो पोस्ट गरेपछि फाथी विरुद्ध गलत खबर फैलाएको अभियोग लगाइएको थियो। उनलाई गत सेप्टेम्बरमा दुई वर्ष लामो कारवास सजाय सुनाइएको थियो।
साथै उनीमाथि अर्को मुद्दा पनि लगाइएको थियो। मंगलबार न्यायाधीशले मुद्दा मुल्तवीमा राखेर फाथीलाई जमानतमा रिहा गर्न आदेश दिएको हो। एमनेस्टी इन्टरनेसनलले इजिप्ट सरकारलाई तुरुन्तै अदालतको निर्णय पालना गर्न अनुरोध गरेको छ।

एक सन्तानकी आमा ३४ वर्षीया फाथी अप्रिल ६ को युथ मुभमेनटका पूर्वअभियन्ता हुन्। साथै उनी अधिकार तथा स्वतन्त्रताका लागि इजिप्टको स्वतन्त्र आयोग (ईसीआरएफ) का अध्यक्ष तथा अभियन्ता मोहमद लोफ्टीकी पत्नी पनि हुन्। फेसबुकमा आफ्नो भिडियो पोस्ट गरेको २ दिनपछि गत ११ मेमा उनलाई राजधानी कायरोबाट गिरफ्तार गरिएको थियो। उनले सो भिडियोमा आफूलाई एकैदिनमा २ पटक यौन दुव्र्यवहार गरेको अनुभव उल्लेख गर्दै सरकारले महिलामाथिको दुव्र्यवहार रोक्न नसकेकोमा आलोचना गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्