पुटिन विवाह बन्धनमा बाँधिन सक्ने



मस्को, (एजेन्सी)
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चाँडै नै एकपटक फेरि विवाह बन्धनमा बाँधिन सक्ने जनाइएको छ। पुटिन आफैंले बिहीबार यसको संकेत दिएका तर उनले आफ्नो जीवनसंगिनी कसलाई बनाउने हो भन्ने विषयमा स्पष्ट गरेका थिएनन्।

प्राय पारिवारिक तथा निजी मामिलामा गोपनियता राखिरहने ६६ वर्षीय पुटिनले एक पत्रकारको प्रश्नको जवाफमा उक्त संकेत दिएका हुन्। अन्तर्राष्ट्रिय तथा आर्थिक मामिलामा बोलाइएको वार्षिक प्रेस सम्मेलनका क्रममा एक पत्रकारले विवाहका विषयमा प्रश्न सोधेका थिए।

विश्वकै शक्तिशाली व्यक्तित्व मध्येका एक पुटिनले मुस्कुराउँदै भने– ‘एक सम्मानजनक व्यक्तिका रूपमा यो काम म एक समयमा पूरा गर्छु।’ पुटिनले सन् १९८३ मा ल्युडमिलासँग विवाह गरेका थिए तर उनीहरूबीच सन् २०१३ मा सम्बन्ध विच्छेद भएको थियो। पुटिनकी छोरी क्याटरिना र मारिया करिब ३० वर्षका छन् र दुवै राजनीतिबाट टाढै बसेका छन्। प्रायः उनीहरू कुनै पनि सार्वजनिक कार्यक्रममा देखिने गरेका छैनन्।

ल्युडमिलासँगको सम्बन्ध विच्छेद गरेपछि पुटिनको निजी जिन्दगीलाई लिएर प्रश्न उठने गरेको छ। केही दिन अगाडि एक रुसी अखबारले पूर्वओलम्पिक जिम्न्यास्ट अलिना काबायवासँग उनको सम्बन्ध रहेको समाचार प्रकाशित गरेको थियो तर पुटिनले त्यसलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्