स्कुलमा कर्मचारीलाई बन्दुक दिन सक्ने



वासिङ्टन, (एजेन्सी)
अमेरिकी सरकार स्कुलमा हुने गोलाबारीको बढ्दो घटनालाई ध्यानमा राखी छिट्टै नै त्यहाँका कर्मचारीका लागि बन्दुक राख्न अनिवार्य गर्नसक्ने संकेत दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गठित एक सुरक्षा समितिले सरकारलाई उक्त सुझाव दिएको हो। सुझावमा स्कुलको सुरक्षाका लागि अवकाश प्राप्त सैनिक र प्रहरीलाई तैनाथ गर्न सकिने उल्लेख गरिएको छ। उनीहरू राम्रो ट्रेनर पनि प्रमाणित हुन सक्ने बताइएको छ।

अमेरिकाको प्mलोरिडास्थित हाइस्कुलमा यसै वर्ष फेब्रुअरीमा एक छात्रले गोलाबारी गरेका थिए। उक्त घटनामा १७ जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। यस घटनापछि पूरै अमेरिकामा बन्दुकका कारण हुने हिंसा रोक्न नीति बनाउनुपर्ने माग उठेको थियो। ट्रम्प प्रशासनले त्यसपछि संघीय कमिसनको गठन गर्ने घोषणा गरेको थियो।

अमेरिकाको शिक्षा मन्त्री बेट्सी डेवोसको अध्यक्षतामा गठित टोलीले स्कुलको सुरक्षाका विषयमा प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनमा केही विशेष परिस्थितिमा स्कुलको सुरक्षाका लागि शिक्षकलाई पनि बन्दुक दिन सकिने उल्लेख गरेको छ। प्रहरी पुग्न धेरै समय लाग्न सक्ने टाढाका स्कुलमा त्यहाँका कर्मचारीलाई बन्दुक उपलब्ध गराउनुले स्कुलमा हुने हमलालाई रोक्न सकिने बताइएको छ।

उक्त टोलीले आफ्नो प्रतिवेदनमा बन्दुक किन्ने उमेरको सीमा बढाउन अस्वीकार गरेको छ। गोलाबारीमा प्रयोग हुने हतियार प्रायः आक्रमणकारीले आफ्ना परिवारबाट र साथीहरूको मद्दतबाट पाउने गरेको टोलीले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्