सुइरो कुहिरोमा हरायो



केही समय अघिसम्म मापसे (मादक पदार्थ सेवन) गरेको छ कि छैन भनी मेसिनमा सुइरो लगाएर फुक्न लगाउँथे हाम्रा ट्राफिक दाजुभाइ। अनि सोध्थे– ‘मापसे छ? ल यहाँ फु गर्नु त?’ आफूचाहिँ माक्स लगाएर अरूलाई जुठो सुइरोमा मुख लगाएर फुक्ने जमाना सकिएको धरहराको ठम्याइ छ।

प्रविधिले फड्को मार्दै जाँदा जुठो सुइरो पनि बदलियो। हुन्न म जुठोमा मुख लगाउँदिनँ भनेपछि नयाँ फेर्थे। बेसरी पिएर आएको मान्छेको जुठो सुइरो नै प्रयोग गर्दा कतिपय त अनाहकमा मापसेमा परेको पनि धरहराले देखेको छ।

हिजोआज त नेवारी उखान ‘बेला न कुबेला बजी नेवला’ भनेजस्तै भएको छ। बार न कुबार, जहाँ जहिले पनि मापसे चेक। पहिले त शनिबार छुट थियो। अरू बार यसो चेक गर्थे तर अचेल मापसे चेकिङले तीव्रता पाएको छ। अझ चेक गर्ने तरिका पनि चोरलाई समात्न लखेटेजस्तो छ भन्या।

यसो सय मिटर वर र पर लुकेर बस्यो फुत्त चेकिङ थाहा पाएर भाग्नेलाई समात्यो। अनि माछाझैं जालमा पार्यो। शैली त यस्तो पो हुनुपर्छ त भन्ने धरहरालाई लागेको छ। आगे यहाँकै मर्जी ! भाग्ने नभाग्ने पिउने नपिउने तपाईंकै अधिकार। सुइरो कुहिरोमा हरायो, जमाना बदलियो, तर मान्छेको बानी बदलिएन। जय मापसे।

प्रतिक्रिया दिनुहोस्