तीन महिनामा साढे तीन खर्ब व्यापार घाटा, ३ खर्ब ७३ अर्बको आयात हुँदा २३ अर्ब मात्र निर्यात



नेपाल समाचारपत्र
काठमाडौं
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा व्यापार घाटा साढे तीन खर्ब रुपियाँ नाँघेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिना अवधिमा ३ खर्ब ९७ अर्ब ३३ करोड २१ लाख रुपियाँबराबरको कुल वैदेशिक व्यापार गर्दा मुलुकले ३ खर्ब ४९ अर्ब ८४ करोड २३ लाख रुपियाँबराबरको व्यापार घाटा व्यहोरेको छ।

साउन, भदौ र असोज महिनामा मात्र नेपालले ५६ अर्ब ६८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ। त्यसैगरी, ४० अर्ब ३ करोड रुपियाँबराबरको स्टिल तथा फलामका सामान, २९ अर्ब ४९ करोड रुपियाँबराबरको विभिन्न मेसिनरी सामान, २८ अर्ब ६० करोड रुपियाँबराबरको सवारी साधन र २१ अर्ब ९४ करोड रुपियाँबराबरको इलेक्ट्रोनिक्स सामाग्री नेपाल भित्रिएका छन्।

गत आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा २ खर्ब ८० अर्ब ६६ करोड ४ लाख रुपियाँबराबरको कुल वैदेशिक व्यापारमा मुलुकले २ खर्ब ३९ अर्ब ७५ करोड २९ लाख रुपियाँ व्यापार घाटा व्यहोरेको थियो। गत आर्थिक वर्षको पहिलो २ महिना अवधिको तुलनामा वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ४१ दशमलव ९३ प्रतिशतले बढेको छ भने व्यापार घाटा ४५ दशमलव ९२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कुल ३ खर्ब ७३ अर्ब ५८ करोड ७२ लाख रुपियाँबराबरको आयात हुँदा २३ अर्ब ७४ करोड ४९ लाख रुपियाँबराबरको मात्र निर्यात भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा २ खर्ब ६० अर्ब २० करोड ५२ लाख रुपियाँबराबरको आयात र २० अर्ब ४५ करोड ५१ लाख ६३ हजार रुपियाँबराबरको निर्यात भएको थियो। गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको समीक्षा अवधिमा आयात ४३ दशलमव ५७ प्रतिशतले बढेको छ भने निर्यात १६ दशमलव ८ प्रतिशतले मात्र बढेको छ।

आयात /निर्यात

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल वैदेशिक व्यापारमा ९२ दशमलव ७ प्रतिशत आयात र ७ दशमलव ३ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ। उक्त अनुपात गत आर्थिक वर्षको सोही अवधिमा ९२ दशमलव ३ प्रतिशत आयात र ७ दशमलव ७ प्रतिशत रहेको थियो भने, आर्थिक वर्ष २०७३÷७४ मा क्रमशः ९१ दशमलव ९ र ८ दशमलव १ प्रतिशत रहेको थियो।

भारतसँग मात्र सवा २ खर्ब व्यापारघाटा

यस आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा नेपालले भारतसँगमात्र २ खर्ब २२ अर्ब ९५ करोड ९२ लाख रुपियाँबराबरको व्यापार घाटा व्यहोरेको छ। चालु आर्थिक वर्षमा भारतसँगको कुल वैदेशिक व्यापारमा पनि वृद्धि भएको छ। यस आवको पहिलो तीन महिना अवधिमा नेपाल र भारतबीच २ खर्ब ३६ अर्ब १२ करोड ३४ लाख रुपियाँबराबरको आयात र १३ अर्ब १६ करोड ४२ लाख रुपियाँ मात्र रहेको देखिन्छ। त्यस्तै, नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने देश चीनसंग ५३ अर्ब ११ करोड ६५ रुपियाँको आयात र ५ अर्ब ६४ करोड रुपियाँबराबरको निर्यात गर्दा ५२ अर्ब ५५ करोड १५ लाख रुपियाँबराबरको व्यापार घाटा व्यहोरेको छ।

वीरगन्ज ठूलो आयातकर्ता र त्रिभुवन विमानस्थल ठूलो निर्यातकर्ता

यस अवधिमा नेपालले गरेको कुल वैदेशिक व्यापारमा वीरगन्ज सबैभन्दा ठूलो आयातकर्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा ठूलो निर्यातकर्ता भन्सार नाकाका रूपमा देखिएको छ। कुल आयातमा वीरगन्ज नाकाबाट मात्र ३४ दशमलव ४५ प्रतिशत सामान नेपाल भित्रिएको छ। त्यसैगरी, कुल निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ३१ दशमलव ३२ प्रतिशत निर्यात भएको देखिन्छ।

ठूला आयातकर्ता भन्सार नाकाका रूपमा क्रमशः भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विराटनगर देखिएका छन् भने ठूला निर्यातकर्ता भन्सार नाकाका रूपमा क्रमशः विराटनगर वीरगन्ज र मेची भन्सार नाका देखिएका छन्। समीक्षा अवधिमा सातवटा भन्सारहरू जलेश्वर, राजविराज, सिराहा, सर्लाही, जनकपुर र भद्रपुरबाट भने निर्यात शून्य देखिएको छ।

पेट्रोलियम पदार्थको आयात उच्च

साउन, भदौ र असोज महिनामा मात्र नेपालले ५६ अर्ब ६८ करोड रुपियाँबराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ। त्यसैगरी, ४० अर्ब ३ करोड रुपियाँबराबरको स्टिल तथा फलामका सामान, २९ अर्ब ४९ करोड रुपियाँबराबरको विभिन्न मेसिनरी सामान, २८ अर्ब ६० करोड रुपियाँबराबरको सवारी साधन र २१ अर्ब ९४ करोड रुपियाँबराबरको ईलेक्ट्रोनिक्स सामाग्री नेपाल भित्रिएका छन्।

दुई महिना अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू मुख्य रहेका छन्। त्यस्तै हस्तकलाका सामानहरू, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुहरूको पनि निर्यात भएको छ।

आयातित वस्तुमध्ये फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ। नेपालको आयातको प्रमुख श्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरू, यातायातका साधनहरू, मेसिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। यसै गरी नेपालको आयात व्यापारमा दोस्रो स्थानमा रहेको उत्तरतर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरू, विद्युतीय उपकरणहरू, मेसिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन्। अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लास्टिकको कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेटआयात भएको पाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्