आफ्नै कारणले मासिएका थिए डाइनोसर

376
Shares

कुनै समय पृथ्वीमा एकछत्र राज गरेका डाइनोसर अचानक लोप हुनुमा एक उल्का पिण्डलाई जिम्मेवार मानिन्छ। सो उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि डाइनोसर मासिएको मानिँदै आएको छ। तर हालै बेलायतमा गरिएको एक अध्ययनले उल्कापिण्ड पृथ्वीमा ठोक्किनुअघि नै डाइनोसरको संख्या ओरालो लाग्न थालिसकेको निष्कर्ष निकालेको छ।

डाइनोसर पृथ्वीभर कुनकुन बाटो हुँदै फैलिए भनी गरिएको सो अध्ययनमा ती भीमकाय जीव आफ्नै सफलताको शिकार बनेको निष्कर्ष निकालिएको हो। अनुसन्धानकर्ताहरुका अनुसार उल्कापिण्डले पृथ्वीलाई ठक्कर दिनुअघि नै पृथ्वीका सम्पूर्ण बासस्थान डाइनोसरहरुले ओगटिसकेका थिए।

उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि डाइनोसर मासिएको मानिँदै आए पनि डाइनोसर आफ्नै सफलताका कारण मासिएको एक अध्ययनले प्रमाणीत गरेको छ ।

अनुसन्धानकर्ताहरुले डाइनोसरहरु आफ्नो उद्गमस्थल दक्षिण अमेरिकाबाट ‘पूरै पृथ्वी ढाक्नेगरी उन्मादको अवस्थामा फैलिएको’ बताएका छन्। सो क्रममा क्रुर टि रेक्सदेखि लिएर भीमकाय लामो घाँटी भएको डिप्लोडोकस जस्ता अनेकौँ प्रकारका डाइनोसर उत्पन्न भए। तर उल्कापिण्ड ठोक्किनुअघि नै आवासको कमीका कारण उनीहरुको संख्या उल्लेख्य रुपमा कम भइसकेको थियो।

नेचर इकोलोजी एन्ड इभोलुसन नामक जर्नलमा उल्लेखित उक्त अध्ययनमा दक्षिण अमेरिकाबाट पृथ्वीभर फैलिन डाइनोसरले प्रयोग गरेको बाटाहरुको निर्क्यौल गरिएको थियो।

‘उनीहरु दृश्यमा देखिनेबित्तिकै एकदम चाँडै पृथ्वीको सबै भागमा फैलिए,’ एक अनुसन्धानकर्ता युनिभर्सिटी अफ रिडिङका डा. क्रिस भेन्डिटी भन्छन्। डाइनोसरको उत्पत्तिभन्दा अघिमात्र संसारबाट ‘ग्रेट डाइङ’ भनेर चिनिने बहुसंख्यक प्रजाति लोप हुने घटना भएको थियो, जसको फाइदा यो प्रजातिले उठाउन पाएको थियो।

डाइनोसरहरु निर्बाध पृथ्वीभर फैलिन पाए किनभने खाना, स्थान र अन्य स्रोतका लागि उनीहरुसँग प्रतिस्पर्धा गर्ने कुनै प्रजाति बाँकी थिएन। तर पृथ्वीको हर कुनामा छाइसकेपछि डाइनोसरको प्रगति धीमा भएको थियो। त्यसपछि त उड्न सक्ने डाइनोसर मात्र जीवित रहन सफल भए, जो अहिले आएर चरा बनेका छन्।

‘तिनले पृथ्वी भरेका थिए। हलचल गर्ने ठाउँ थिएन, त्यसैले उनीहरु आफ्नै बासस्थानमा मात्र विशिष्टिकृत भए, जसका कारण तिनले नयाँ प्रजाति उत्पन्न गर्न सकेनन्,’ युनिभर्सिटी अफ रिडिङकी डा सियरा ओडोनोभन भन्छिन्, ‘चराबाहेक उनीहरुको अन्त्येष्टिको अन्तिम घटना यही थियो।’

यो अनुसन्धान प्रत्येक डाइनोसर र उसका पुर्खा कहाँ थिए भन्ने तथ्यांकगत विधिमा आधारित छ। जीवाष्म अध्ययनले भन्दा यसले अझ पूर्ण तस्वीर देखाउन सक्छ।

यद्यपि सबै अनुसन्धानकर्ता उल्कापिण्ड ठोक्किनुअघि नै डाइनोसरको अधोगति सुरु भइसकेको थियो भन्ने तर्कलाई मान्न तयार छैनन्। ‘महादेशहरु ससाना खण्डमा टुक्रिँदै गर्दा पनि डाइनोसरको प्रजातिमा विविधता थपिने क्रम रोकिएको थिएन। क्रिटेसस युगको अन्तमा पृथ्वीमा उल्का पिण्ड ठोक्किँदासम्म पनि उनीहरुमा विविधता थपिइरहेको थियो,’ युनिभर्सिटी अफ पोर्ट्समाउथका प्राध्यापक डेविड मार्टिल भन्छन्। बिबिसी

 

Skip This