नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा समस्या



विनोद सिंह विष्ट, बैतडी ।
नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा बैतडीका नागरिकलाई सास्ती भएको छ । प्रभावकारी रुपमा सेवा दिन नसक्दा यहाँका नागरिक अधिकांस समय सञ्चारबिहीन हुने गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी दुर्गम मानिएको सिगास गाउँपालिकामा नेपाल टेलिकमको समस्या रहेको छ । सिगास गाउँपालिकाको वडा नं २ गाँजरी , वडा नं ५ ढुंगाड र वडा नं ६ थलाकडा मा बढी समस्या हुने गरेको स्थानीय भान बहादर बोहराले जानकारी दिए । उनले भने“फोन गर्नेकै लागी डाँडा चढ्नपर्ने अवस्था छ ।”

सामान्य ईन्टरनेटको कामले घण्टै हिँडेर खोडपे बजार, डडेल्धुरा तथा सदरमुकाम धाउन बाध्य भएका छन् । उनले भने“ईन्टरनेटको सामान्य कामको लागी हजार बढी खर्च गर्नुपर्दछ” यो समस्या सबैभन्दा बढी सिगासको डोटी र डडेल्धुराको सीमा क्षेत्र ढुंगाडका नागरिकलाई भएको छ ।

२०७३ सालसम्म एनसेलको सेवा प्रयोग गरिरहेका सिगासका नागरिक त्यसयता स्मार्ट सेलको प्रयोग गरिरहेका छन् । स्मार्ट सेलको पनि बर्षातको समयमा नेटवर्क नआउने स्थानीय नागरीकको भनाई छ ।

जिल्लाको तल्लोस्वाराडमा पर्ने शिवनाथ गाउँपालिका, पञ्चेश्वर पञ्चेश्वर गाउँपालिका र मेलौली नागरपालिकाका सबै नागरिकले नेपाल टेलिकमको पहुँच बाहिर रहेका छन् । जिल्लाको तल्लोस्वराड क्षेत्रमा नमस्ते मोबाईलले समेत राम्रोसंगकाम नगर्दा सञ्चारबिहीन हुन बाध्य भएका शिवनाथका स्थानीय बिरेन्द्र महताले बताए । उनले भने“ नेपाल टेलीकमको सीमित टावर भएकाले सबै ठाउँमा नेटवर्क आउदैन् ।”

बर्षातको समयमा तल्लोस्वराडका स्थानीय बासीन्दालाई झनै समस्या हुने गरेको छ । विद्युत सेवा नहुँदा नेपाल टेलिकमका टावर सोलारवाट सञ्चालनमा रहेकाले बर्षातको समयमा सञ्चारबिहीन हुनुपरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदले बताए । उनले भने“नेपाल टेलिकमको सेवा प्रभावकारी छैन, बर्षातको समयमा बेलाबेला नेटवर्कले काम गर्दैन ।”

यस क्षेत्रका केही गाबिस मा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अधिकासं ठाउँहरुमा नेपाल टेलिकम को प्रिपेड तथा पोस्टपेड फोन सेवा ले काम नगर्ने स्थानिय बासिन्दा जगदिश पन्तले बताए।

पञ्चेश्वर गाउँपालिका पनि नेपाल टेलिकमको मोबाईल सेवा प्रभावकारी नहँुदा समस्या हुने गरेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिए । मोबाईल नेटवर्कले काम नगर्दा अधिकांस समय सञ्चारबिहीन हुनुपरेको छ उनले भने“टेलिकमको सेवा प्रभावकारी नहुँदा ईन्टरनेट चलाउन समेत समस्या हुने गरेको छ ।”

तल्लोस्वराडका साविकका आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसमा अझै फोन सेवा सुचारु नहुदाँ स्थानिय मर्कामा परेका हुन्। त्यस क्षेत्रका नागरिक एनसेल र स्मार्ट सेलको मोबाईल सेवा प्रयोग गरिरहेका छन् ।

टेलिकमले पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वोराडका स्थानिय बासिन्दा फोन सेवा बाट बन्चीत भएका हुन् ।

यस्तै पुर्चौडी नगरपालिकामा पनि नेपाल टेलिफोनको टावर बेलाबेला बिग्रने भएको समस्या भएको छ । दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको स्थानीय राजेश धामीले बताए । उनले भने“बर्षाको समयमा सञ्चारबिहीन परेको छ ।”

डिलाशैनी गाउँपालिकाको पनि धेरै ठाउँमा नेपाल टेलिकमको नमस्ते मोबाईलले काम नगर्ने स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको केन्द्र धामीगाउँमा समेत सञ्चार सुविधा छैन । उनले भने“गाउँपालिकाका अधिकांस नागरिक टेलिकमको पहँुच बाहिर छन् ।”

नेपाल टेलिकम बैतडीले धेरै ठाउँमा सोलारबाट टावर सञ्चालनमा रहेकोले समस्या रहेको जनाएको छ । पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थालकोले केही समयपछी समस्या समाधान हुने भएको छ । बैतडीमा हाल नेपाल टेलिकमका १७ टावर सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्