ग्लोबल कलेजले जीसीआई फिएस्टा आयोजना गर्ने

0
Shares

काठमाडौं, (नेस) ग्लोबल कलेज इन्टरनेसनलले वार्षिक व्यवस्थापन महोत्सव ‘जीसीआई फिएस्टा २०१८’ गर्ने भएको छ । साउन ४ गतेबाट शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । कलेज प्रशासनका अनुसार महोत्सवमा विभिन्न १० कार्यक्रम समाविष्ट हुने छन् । तीनले विद्यार्थीलाई व्यवसाय, व्यवस्थापन र लगानीका विभिन्न विधामा आफ्नो क्षमता पहिचान गर्न मद्दत गर्ने कलेज प्रशासनको भनाइ छ ।

जीसीआई फिएस्टा अन्तर्गतका गतिविधिमा बिजनेस स्टिम्युलेसन कार्यक्रम, बिजनेस टक, केस एनलाइसिस कम्पिटिसन, आइडिया पिचिङ कम्पिटिसन, बिजनेस क्विज कम्पिटिसन, फोटाग्राफी कम्पिटिसन, भिजुअल एड कम्पिटिसन, फुटसल कम्पिटिसन, आइटी कम्पिटिसन र रक्तदान कार्यक्रम छन् । फिएस्टा एक हप्तासम्म चल्नेछ ।

कम्पिटिसन आयोजना गर्नुअघि कलेजले कार्यशाला र प्रशिक्षण पनि दिनेछ । यसले विद्यार्थीलाई सिक्न र प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ ।

कार्यक्रमबारे बोल्दै कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले भन्नुभयो–‘हामीले विद्यार्थीको क्षमता बढाउन निरन्तर रुपमा कार्यक्रम गरिरहेका छौं ताकी विद्यार्थी छँदैमा उनीहरुले वास्तविक व्यावसायिक संसारको अनुभव गर्न सकून् । आधारभूत रुपमा बिबिए र एमबिएका विद्यार्थीले कक्षा कोठाभित्रै व्यवसायका व्यावहारिक पक्षबारे थुप्रै कुरा सिकिरहेका छन् । जिसिआई फिएस्टा जस्ता कार्यक्रमले विद्यार्थी र बजारको वास्तकविताबीचको खाडल पुर्ने काम गरिरहेका छन् ।’

कार्यक्रम निर्देशक समिर शर्माका अनुसार जिसिआई फिएस्टा साताव्यापी हुनेछ । यसमा विद्यार्थीलाई दक्षता, नेतृत्व, टिमवर्क र व्यवसायका व्यावहारिक आधारभूत पक्षमा केन्द्रित कौशलको व्यवस्थापकीय प्रतिस्पर्धामा सामेल गराइने छ । यसले विद्यार्थीलाई आफ्नो क्षमता पहिचानको अवसर उपलब्ध गराउने छ र एउटै फोरममा अघिल्लो र पछिल्लो पुस्ताका विद्यार्थीलाई उभ्याएर उनीहरुबीच सम्बन्ध स्थापित गर्न मद्दत गर्नेछ ।’

उक्त कार्यक्रमको व्यवस्थापन प्रदीप पराजुली र उद्दव जोशीले गर्नेछन् । उनीहरु दुवै सीपमा आधारित शैक्षिक कार्यक्रम सीपशालाका संस्थापक हुन् । उनीहरुले चार वर्षदेखि नेपालका प्रतिष्ठित प्राज्ञिक प्रतिष्ठानहरुमा मूल्यमा आधारित शैक्षिक कार्यक्रमका विभिन्न तहमा रहेर काम गरिरहेका व्यक्तिहरु हुन् ।