चिनियाँ लगानीकर्ताको प्रतिबद्धता

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओको नेतृत्वमा नेपाल भ्रमणमा आएको कुइचाओका २० सदस्यीय चिनियाँ उद्यमी व्यवसायीबीच भेटवार्ता गरी नेपालमा चीनको कुइचाओ प्रान्तको लगानी भित्र्याउने सम्बन्धमा छलफल भएको छ ।

महासंघ र प्रतिनिधिमण्डलबीच सम्पन्न भेटवार्तामा नेपालमा पूर्वाधार, सूचनाप्रविधि, पर्यटन, स्मार्ट सीटी, शहरी यातायात, जनशक्ति विकास तथा डेटा सेन्टर स्थापना लगायतका विषयमा बृहत् छलफल भएको थियो ।

सो अवसरमा चिनियाँ पक्षबाट कुइचाओ प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पु“जीमार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । चिनिया“ एक्जीम बैंकको कुइचाओ शाखा नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको समेत चिनिया“ पक्षबाट जानकारी दिइयो । भेटवार्तामा कुइचाओ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाइएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्यास हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटीलगायतका क्षेत्रको प्रतिनिधित्व रहेको थियो । प्रतिनिधिमण्डलका नेता एवं कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा कुइचाओ प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो ।

नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा गर्नुहु“दै महासंघका अध्यक्ष भवानी राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको प्रष्ट पार्नुभयो । लगानी, पु“जी प्रविधि भित्र्याउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ, उहाँले विश्वास दिलाउनुभयो ।

अध्यक्ष राणाले जनशक्ति विकास तथा महासंघमा डाटा सेन्टर स्थापनाका लागि प्रस्ताव राख्नुभयो । ऊर्जा, कृषि, पर्यटन, शिक्षा, पूर्वाधार (सडक, रेल, पुल, टनेल) लगायतका क्षेत्र नेपालका प्रमुख लगानीका क्षेत्र भएको कुरा सरकारले समेत किटान गरेको अध्यक्ष राणाले स्पष्ट पार्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको लागि आगामी दशक विकास दशकको रुपमा रहेकाले यहा“ रहेको प्रचुर सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनिया“ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नुभयो– ‘सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशील रहेको र लगानीको वातावरण पनि अत्यन्त अनुकुल रहेको छ ।’

बैठकमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू प्रवलजंग पाण्डे, विनोदराज ढकाल, रविनकुमार श्रेष्ठ, महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो ।