कृषिमा यान्त्रिकरणका लागि इजरायलसँग सम्झौता गरिँदै



नेपाल समाचारपत्र
काठमाडौं
कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले अबको केही दिनभित्रै नेपाल र इजरायलबीच नेपालमा कृषि यान्त्रिकरण र व्यावसायिक कृषिको विकासका लागि महŒवपूर्ण सम्झौता हुन लागेको बताउनुभएको छ।
मे ८ तारिखदेखि १० तारिखसम्म इजरायलमा आयोजना भएको २०औं अन्तर्राष्ट्रिय कृषि प्रविधि मेला तथा सम्मेलनमा भाग लिएर फर्किनुभएका मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि दुई देशबीच सहकार्य गर्ने विषयमा छलफल भएको बताउनुभयो। नेपालको कृषि क्षेत्रलाई व्यावसायिक र उच्च प्रविधियुक्त बनाउन सामादायिक कृषि (कम्युनिटी फार्मिङ), कृषि तालिम केन्द्रको स्थापना र कृषिमा नयाँ प्रविधिको विकासका लागि नेपाल र इजरायलबीच सम्झौता हुने मन्त्री खनालले बताउनुभयो।

कम्युनिटी फार्मिङका लागि सात वटा प्रदेशमा ७ वटा मोडलका कृषि उपज उत्पादन केन्द्र स्थापना गर्न, हाल ईजरायलले वार्षिक ५ सय जना नेपालीलाई कृषि क्षेत्रमा दिँदै आएको प्रशिक्षण नेपालभित्रै दिने वातावरण मिलाउन र कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिलाई नेपालमा पनि प्रयोगमा ल्याउन इजरायलले नेपाललाई सहयोग गर्न लागेको मन्त्री खनालले जानकारी दिनुभयो।

व्यावसायिक कृषिका लागि हाल नेपालमा जमिनको उपलब्धता सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको भन्दै उहाँले त्यसका लागि सरकारले नै पहल गर्नुपर्ने बताउनभयो। ‘सरकारले जमिन आफ्नो स्वामित्वमा रहेको र चाहेको बेला उपयोग गर्ने भन्ने सोचाई राख्छ। किसानले पनि जमिन उपभोग गरेकै आधारमा आफ्नो ठान्छन्। तर, वास्तविक रूपमा जमिन दलाल र विचौलियाहरूले कब्जा गरेर राखेका छन। जग्गा निजीकरणका लागि सरकारले नै पहल लिनुुपर्ने देखिन्छ,’ उहाँले भन्नुभयो। सामुदायिक कृषि क्षेत्र स्थापना गर्न पहाड र चुरेबाट तराईमा बसाई सराई गर्ने र खेतीयोग्य जमिन प्लटिङ गर्दै बसोबास गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने मन्त्री खनालको भनाइ छ।

सामादायिक कृषि (कम्युनिटी फार्मिङ) का लागि सात वटा प्रदेशमा ७ वटा मोडलका सामुदायिक कृषि क्ष्ँेत्र स्थापनाका लागि केही समयभित्रै दुई देशबीच सहमति हुने पनि उहाँले जानकारी दिनुभयो। ‘इजरायललगायत अन्य मुलुकमा सामुदायिक कृषिको अवधारणाले कृषि विकासमा निकै फड्को मारेको छ।

हामीले पनि सातवटै प्रदेशमा सुहाउँदो किसिमको ठूलो कृषि उपज उत्पादन क्ष्ँेत्र निर्माणका लागि यो मोडल प्रयोगमा ल्याउन सक्छौं। यसमा सहकारी क्षेत्र पनि जोडिन्छ,’ मन्त्री खनालको भनाइ छ। हाल ठूलो संख्यामा इजरायल जाने कृषक कामदारलाई नेपालभित्रै ट्रेनिङ सेन्टर स्थापना गरेर स्वरोजगार स्थापना गर्नसक्ने विषयलाई पनि आफूले उठाएको उहाँको भनाइ छ। कृषिमा यान्त्रिकरण हुन नसक्नु पनि यस क्षेत्रको उत्पादकत्व कम हुनुको अर्को मुख्य कारण रहेको उहाँले बताउनुभयो। त्यसकारण पनि इजरायलबाट नेपालले कृषि क्षेत्रमा यान्त्रिकरण गर्न तथा नयाँ प्रविधि भित्र्याउने विषयमा दुई देशबीच सहकार्यका लागि पहल गरेको मन्त्री खनालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्