डल्ले खुर्सानी बिक्रीबाट वार्षिक सात लाख आम्दानी

846
Shares

दोलखा।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर– २ बाँसबोडे की सम्झना खड्काले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरेकी छन् । डल्ले खुर्सानी र यसको बिरुवा बिक्री गरेर उनले वार्षिक सात लाख भन्दा बढी आम्दानी गरेकी छन् ।

गतबर्ष मैले डल्ले खुर्सानी बिक्रीबाट झन्डै ६ लाख रुपैया कमाएको थिए । यसको बिरुवा बिक्रीबाट एक लाख ५० हजार कमाई भएको थियो– सम्झनाले भनिन् । यो बर्ष भने खुर्सानी बिक्रीबाट कम आम्दानी हुने देखिएको उनको भनाई छ । तर, खुर्सानीको बिरुवा बिक्रीबाट भने यो बर्ष राम्रै आम्दानी गरेको उनले बताइन ।

मेलुङ गाउँपालिकामा हेफर परियोजना सञ्चालन भएपछि सोहि परियोजनाको सहयोगमा सम्झनाले डल्ले खुर्सानी र त्यसको विरुवाको व्यवसायीक उत्पादन सुरु गरेकी थिईन ।

पालिकामा हेफर परियोजना सुरु भएपछि त्यसैमा आवद्ध भएर आफु व्यवसायीक रुपमा कृषि पेशामा लागेको र पहिलो पटक हेफर परियोजनाका शान्त भट्टले इलामबाट ल्याएको डल्ले खुर्सानीको बिरुवा रोपेर व्यवसाय सुरु गरेको सम्झनाले बताइन ।

मेहेनत ग¥यो भने गाउँमै कृषि व्यवसाय गरेर पनि मासिक एक लाख कमाउन मुस्किल छैन– सम्झनाले भनिन् । आफूले कृषि व्यवसायमा लागेर पारिवारीक आम्दानिसंगै गाउँका केही युवालाई रोजगारी समेत दिन सकेको उनको भनाई छ ।

उनले अहिले डल्ले खुर्सानी र यसको विरुवाको बिक्री वितरणसंगै एभोकाडो, कफी, जपनिज कटुस, तेजपत्ता, चाँप लगायतको बिरुवा समेत बिक्री गर्दै आएको बताएकी छन् । झन्डै १४ रोपनी जमिनमा सुरु गरेको यो व्यवसायले वार्षिक १० लाखभन्दा बढी कमाई हुने गरेको सम्झनाको भनाई छ । उनको यो व्यवसाय प्रमोसनको लागि हेफर परियोजनासंगै मेलुङ गाउँपालिकाले समेत राम्रो सहयोग गरेको छ ।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर कृषि व्यवसायमा सक्रिय युवा कृषक सम्झना खड्कालाई पालिकाले प्राविधिक सहयोग, बिरुवा तथा अन्य परामर्श दिदै आएको बताए । यो बर्ष सम्झना खड्का समेत सहभागि सेतीदेवी महिला समूहलाई खुर्सानी सुकाउने मेशिन समेत उपलब्ध गराएको अध्यक्ष थोकरले बताए ।

मेलुङ गाउँपालिकाले आफ्नो व्यवसायको लागि प्राविधिक सहयोगसंगै बिरुवा र मर्चिङ प्लास्टिक समेत उपलब्ध गराएको सम्झनाले बताइन । अहिले आफूले उत्पादन गरेको विरुवाहरु मेलुङ गाउँपालिकाले खरीद गरेर विभिन्न कृषक समूहलाई वितरण गर्दै आएको उनको भनाई छ ।

आफूले उत्पादन गरेका डल्ले खुर्सानी, एभोकाडो, कफी, जपनिज कटुस, तेजपत्ता, चाँप लगायतको बिरुवा दोलखाको गौरीशङकर, तामाकोशी र कालिञ्चोक गाउँपालिका तथा धादिङ, सिन्धुपाल्चोक र रामेछाप जिल्लाको विभिन्न पालिका र कृषक समूहले खरिद गर्दै आएको सम्झनाले बताइन ।