बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै भुस्मेका किसान

470
Shares

लमजुङ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँ बेमौसमी तरकारी खेतीमार्फत जिल्लाकै नमुना कृषि बस्तीका रुपमा परिचित बन्दै गएको छ । उर्वर भूमि, अनुकूल हावापानी र किसानको मेहनतका कारण यहाँ व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको हो ।

भुस्मे गाउँका किसानले करिब एक सय रोपनी क्षेत्रफलमा बेमौसमी काउली, बन्दाकोपी, काँक्रोलगायतका तरकारी उत्पादन गरिरहेका छन् । स्थानीय किसान होमराज तामाङका अनुसार गाउँका ५२ घरधुरीमध्ये ४० घरधुरी प्रत्यक्ष रुपमा बेमौसमी तरकारी खेतीमा आबद्ध छन् ।

उत्पादन भएको तरकारी बेसीशहर, खुदी, सुन्दरबजारलगायतका स्थानीय बजारमा बिक्री हुँदै आएको छ । बेमौसमी तरकारी खेतीबाट मात्रै एक घरधुरीले एकै मौसममा करिब एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय किसान होमराज तामाङले बताउनुभयो । 

बेमौसमी तरकारीबाहेक किसानहरुले आलु, गोलभेँडा, काँक्रो, कालो तथा रातो भटमासको समेत व्यावसायिक खेती गर्दै आएका छन् । पछिल्लो समय उच्च मूल्यमा बिक्री हुने अकबरे खुर्सानीको खेती पनि सुरु गरिएको छ, जसले किसानमा थप उत्साह थपेको छ ।

भुस्मे गाउँको कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोग, जैविक मलको उपयोग तथा बजारसँगको पहुँच विस्तार हुँदै जाँदा यहाँको कृषि व्यवसाय थप व्यवस्थित बन्दै गएको स्थानीयको भनाइ छ । बर्खायाममा समेत उत्पादन हुने ताजा तरकारीले स्थानीय बजारको माग पूर्ति गर्नुका साथै किसानलाई नियमित आम्दानीको स्रोत बनेको छ ।

कृषिसँगै पर्यटनको सम्भावना पनि भुस्मे गाउँमा विस्तार हुँदै गएको छ । गाउँमा सञ्चालनमा रहेको होमस्टेले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ । हरियालीले ढाकिएको खेतीयोग्य जमिन, ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यका कारण कृषि अवलोकन तथा ग्रामीण पर्यटनका लागि भुस्मे आकर्षक गन्तव्य बन्न थालेको स्थानीय बताउँछन् ।

कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार पहाडी क्षेत्रमा बेमौसमी तरकारी उत्पादनले किसानको आय वृद्धि, रोजगारी सिर्जना तथा खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने भएकाले यस्ता खेतीलाई थप प्रोत्साहन गर्न आवश्यक छ । सिँचाइ, कृषि सडक, भण्डारण तथा बजारीकरणमा सरकारी सहयोग बढाउन सके भुस्मे गाउँलाई जिल्लाकै कृषि उत्पादन केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना रहेको रेग्मीको भनाइ छ ।

स्थानीय सरकार, कृषि शाखा तथा सम्बन्धित निकायको प्रविधि र बजारीकरणमा निरन्तर सहयोग प्राप्त भए भुस्मे गाउँले कृषि उत्पादनसँगै कृषि पर्यटनको क्षेत्रमा समेत नयाँ पहिचान स्थापित गर्ने विश्वास स्थानीय किसानहरुले व्यक्त गरेका छन् ।