‘अटोमोबाइलको बजार ४० प्रतिशतले बिस्तार’



दीपक मल्होत्रा
अध्यक्ष, आईएमएस गु्रप

नेपाली बजारमा मोबाइलको व्यापारमा सक्रिय रहेको आईएमएस गु्रप कोरियाली ब्रान्डको स्याङयोङ गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पनि हो। करिब डेढ वर्ष अगाडिदेखि यस गु्रपले उक्त गाडी नेपाली बजारमा बिक्री गर्दै आएको छ। पछिल्लो समयमा नेपालमा अटोमोबाइलको व्यापार, स्याङयोङ गाडीको बजार र उपभोक्ताको मागलगायतका विषयमा नेपाल समाचारपत्रले आईएमएस गु्रपका अध्यक्ष दीपक मल्होत्रासंँग गरिएको कुराकानीः

नेपाली बजारमा अटोमोबाइल बजार कुन गतिमा अगाडि बढिरहेको छ ?

अटोमोबाइल बजार निश्चित रूपमा तीव्र गतिमा वृद्धि भइरहेको छ। यस क्षेत्रमा वार्षिकरूपले औसतमा ३०–४० प्रतिशतको हाराहारीमा विस्तार भइरहेको पाइन्छ। यसको लागि विभिन्न कारण जिम्मेवार रहेका छन्। तीव्र शहरीकरण, बढ्दो क्रयशक्ति, सरल गाडी कर्जा जस्ता कारणले बढीभन्दा बढी नेपाली जनता कार, मोटरसाइकल जस्ता सवारी साधन किनिरहेको पाइन्छ। त्यस्तै सार्वजनिक यातायातको दयनीय स्थिति एवम् गाडी खरिद गर्नुलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरिने परिपाटीले गर्दा पनि नेपालमा सवारी साधनको बिक्री बढ्दै गएको छ।

अटोमोबाइल बजारले सामाना गरिरहेको प्रमुख चुनौतीहरू चाहिँ के–के हुन्?

यो बजार विभिन्न समस्याबाट ग्रसित छ। त्यसमध्ये सबैभन्दा ठूलो चुनौती भनेको आवश्यक पूर्वाधारको अभाव नै हो। नेपालमा जुन रूपमा सवारी साधन बिक्री भइरहेको छ। त्यस अनुरूप सडकको निर्माण भइरहेको छैन। मुलकमा २५ लाखको संख्यामा सवारी साधन दर्ता भइसकेका छन्।

उक्त सवारी साधनमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा मात्र केन्द्रित छ। तर, दुभाग्यपूर्ण कुरा के छ भने सवारी साधनको बिक्री अनुरूप देशमा बाटोको निर्माण हुन सकिरहेको छैन। विभिन्न सडक विस्तार आयोजना निकै सुस्तगतिमा अगाडि बढिरहेको छ। कुनै पनि महानगरको शहरी विकासको लागि १५ देखि २५ प्रतिशत उक्त महानगरको एरियामा सडक बन्नुपर्ने अन्तर्राष्ट्रिय चलन रहेको छ। तर, दुर्भाग्यबस देशको राजधानीमा जम्मा ७ देखि ८ प्रतिशत एरिया मात्र सडक बनेको अवस्था छ। यसले गर्दा राजधानीका सडकमा हरेक दिन ट्राफिक जामको समस्या झेल्नु परेको कुरा सर्वविदितै छ। अझै पनि काठमाडौंमा फ्लाई ओभर, अन्डरपास जस्ता महत्त्वपूर्ण यातायातसम्बन्धी संरचना बन्न सकिरहेका छैनन्। यसले गर्दा काठमाडौंको यातायात व्यवस्था पूर्ण रूपमा अव्यवस्थित भएको छ।

देशको सडक पूर्वाधारलाई सबल एवम् प्रभावकारी बनाउन के कस्ता कदम चालिनुपर्छ ?

सरकारले वार्षिकरूपमा १० अर्बभन्दा बढी राजश्व सवारी साधनको आयात र बिक्रीबाट उठाउँछ। यस रकमलाई सडक पूर्वाधारको विकासको लागि बुद्धिमतापूर्ण ढंगले लगानी गर्नुपर्छ। सवारी साधनको समुचित व्यवस्थापनको लागि फ्लाई ओभर, अन्डरपास, इलेभेटेडरोडस्, मास ट्रान्जिट, मल्टी स्टोर पार्किङ निर्माण नितान्त आवश्यकता हो।

यसैगरी सरकारले केही निश्चित समयको लागि सवारी साधनको आयातमा नियन्त्रण पनि गर्नुपर्छ। उचित सडक पूर्वाधारको विकासबिना केवल सवारी साधनको आयात मात्र गर्ने प्रवृत्तिले भोलिको दिनमा देशको समग्र यातायात क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्छ। त्यसैले यस्तो स्थिति आउन नदिन सरकारले सवारी साधनको आयातलाई केही समयसम्म निरुसाहित गर्ने संयन्त्र विकास गर्नुपर्छ।

तपाई्रको गु्रपले विगत डेढ वर्षदेखि एसयुभी वर्गको स्याङयोङ ब्रान्ड नेपाली बजारमा बिक्री गर्दै आएको छ, यस ब्रान्डबारे केही प्रकाश पार्नु हुन्छ कि ?

स्याङयोङ ब्रान्ड नेपालमा भित्रिएको १०–१२ वर्ष भए पनि हाम्रो गु्रपले यसको आधिकारिक बिक्री आईएमएस मोर्टस्को नाममा गरेको डेढ वर्ष भएको छ। शुरूमा यस ब्रान्डको वार्षिक रूपमा ४–५ वटा गाडी बिक्री भए पनि करिब डेढ वर्षदेखि यसको बिक्रीमा उल्लेखनीय वृद्धि भएको छ। आईएमएस मोर्टस्ले यस अवधिमा करिब ७० वटा स्याङयोङ ब्रान्ड बिक्री गर्न सफल भइसकेको छ। हाल हामीले यस ब्रान्डका टिभोली, कोरोन्डोलगायत ५ वटा मोडल बिक्री वितरण गरिरहेका छौं।

वार्षिकरूपमा १० अर्बभन्दा बढी राजश्व सवारी साधनको आयात र बिक्रीबाट उठ्छ। यो रकमलाई सडक पूर्वाधारको विकासको लागि लगानी गर्नुपर्छ। सवारी साधनको समुचित व्यवस्थापनको लागि फ्लाई ओभर, अन्डरपास, इलेभेटेडरोडस्, मास ट्रान्जिट, मल्टी स्टोर पार्किङ निर्माण आवश्यकता हो।

स्याङयोङ ब्रान्डमा उल्लेखनिय रूपमा बिक्री हुनुको कारण के होला ?

करिब एक वर्ष अगाडि नेपाल राष्ट्र बैक तथा वित्तीय संस्थानलाई कुनै पनि नयाँ गाडीको कूल मूल्यको ५० प्रतिशतभन्दा बढी फाइनान्सिङ गर्न निषेध गर्ने निर्णय गर्यो। त्यस्तै ७–८ प्रतिशतको हारहारीमा रहेको गाडी कर्जाको ब्याजदर पनि त्यही समयमा १३ देखि १४ प्रतिशतले बढ्न गयो। यसले गर्दा देशको सम्पूर्ण अटोमोबाइल बजारमा गिरावट आएको थियो।तर, अहिले फेरि नयाँ गाडीलाई ६५ प्रतिशतसम्म फाइनान्सिङ गर्ने व्यवस्था हुनुका साथै गाडी कर्जाको ब्याजदर पनि घट्न गएको छ।

यसले गर्दा सवारी साधनको बजारमा आएको गिरावट न्यूनीकरण हुन गई सवारी साधानको बिक्री बढिरहेको छ। यसै अनुरूप स्याङयोङ ब्रान्डले पनि निरन्तर बजारमा आफ्नो हिस्सा विस्तार गर्न सफल भएको हो। हामीले अहिले यस ब्रान्डको मार्केट भिजिबिलीटी बढाउनको लागि अत्यन्त कम नाफामा गाडीहरू बिक्री गरिरहेका छौं। अर्कोतर्फ स्याङयोङ एसयुभी प्राविधिक हिसाबले उन्नत र बलियो भएकाले भौगोलिक रूपले जटिल नेपालको बाटो सुहाउँदो छ। यी यावत कारणले गर्दा यस ब्रान्डको बिक्रीमा निरन्तर वृद्धि भइरहेको छ।

स्याङयोङ ब्रान्डको छविलाई बजारमा अझ बढी सवल बनाउन कुनै योजना छन् ?

सबैभन्दा पहिलो के बुझन जरुरी छ भने स्याङयोङ कोरियाको अटोमोबाइल बजारमा नेतृत्वदायी भूमिका खेलिरहेको ब्रान्ड हो। त्यसैले हामीले ब्रान्डको क्वालिटी बेन्चमार्कलाई मध्यनजर गरेर नेपालमा यसको बिक्री वितरणलाई विस्तार गर्ने योजना बनाएका छौं। उदाहरणको लागि हामीले आगामी ६ महिनाभित्र काठमाडौंको गहनापोखरीमा प्राविधक रूपले उन्नत सर्भिस सेन्टरको स्थापना गर्दै छौं। करिब १३ करोडको लगानीमा स्थापना हुने यस सेन्टरमा जडित हुने उपकरण स्याङयोङ ब्रान्डले तोकेको स्टान्डर अनुरूप हुनेछ।

त्यसैगरी हामीले हालसालै पोखरामा नयाँ शोरुम स्थापना गरेका छौं भने भविष्यमा मुलकका अन्य शहरजस्तै नारायणघाट, बुटवल, विराटनगर वीरगन्जलगायतमा पनि आफ्नो सञ्जाल विस्तार गर्ने रणनीति रहेको छ। यी कार्य पूरा भइसकेपछि हामीले स्याङयोङ ब्रान्डको बजारलाई अझ बढी विस्तार गर्न आक्रमक मिडिया क्याम्पेन पनि संचालन गर्दैछौ।

प्रतिक्रिया दिनुहोस्