काठमाडौं।
दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकहरूको बढ्दो अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको छ ।
रिनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्ट’लाई सार्थक बनाउन हलका हरेक पक्ष– प्रविधि, ध्वनि, सिट, वातावरण जस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ ।
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा स्टेट अफ द आर्ट दृश्य प्रविधि बार्को फोके आरजिबी लेजर प्रोजेक्टर जडान गरिएको छ । पर्दामा चलचित्रका दृश्यहरूलाई अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर यो प्रोजेक्टर जडान गरेको हो ।
साउन्ड सिस्टमतर्फ थ्रिडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलका सिटहरूलाई पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । यी कुर्सीमा एडभान्स एर्गोनोमिक्स, रिच ल्यामिनेटेड फेब्रिक र थ्री–पोजिसन लकिङ सुविधा छ ।
थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्णरूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
‘नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रेनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ । अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ’, उनले भने ।











प्रतिक्रिया