“रिटायर्ड बट नट टायर्ड”



सुनील महर्जन

सामान्य झोलामा विभिन्न पत्रपत्रिकामा छापिएका समसामयिक लेखको फोटोकपीको चाङ। ‘यो पढ्नुस्, धेरै कुरा बुझ्नु हुनेछ।’ आफूसँगको भेटमा लेख्न, पढ्न रुचाउने र चिनजानका मानिसलाई झोलाबाट निकालिएर फोटोकपी बाँड्ने। यो नै लोकबहादुर शाक्यको परिचय र विशेषता हो। उनीसँग परिचित भएकाहरूको मनमस्तिष्कमा आउने पहिलो बिम्ब हो। शाक्यको यो स्वभावलाई सधैं देखिरहने मानिसलाई खुल्दुली लाग्न सक्छ।

उमेरले ९ दशक पार गर्न लागेका बुद्धका अनुयायी यी व्यक्ति आखिर के चाहन्छन्? जिज्ञासामा शाक्य भन्छन्– ‘सुधार।’ विशेषतः समाजमा देखिएको विकृति विसंगति अन्त्यका लागि बहस, छलफल र आलोचनात्मक दृष्टिकोण हुनु खाँचो छ। सत्य तथ्य बुझ्ने, रचनात्मक छलफलले नै विकृति विसंगतिलाई कम गर्न सकिन्छ।’ पत्रपत्रिकामा छापिएको लेख पढ्न प्रेरित गर्ने उनको कार्य सोही चाहनाको परिणति हो भन्दा फरक पर्दैन।

धर्म, परम्परा, संस्कारको नाउँमा चलीआएको बेथिति, अन्धविश्वास र गलत परम्परालाई उमेरले छेकेको छैन। उमेर ढल्किँदै गए पनि आफ्नो भित्री मनले देखेको सत्य कुरा बोल्न उनलाई अलिकति संकोच लाग्दैन। आफूलाई लागेको कुरा बोल्न र अडान राख्न उनलाई अझै पनि उमेरले छेकेको छैन। विशेषतः जन्मले कोही ब्राह्मण हुँदैन, न कोही शुद्र हुन्छ भन्ने बुद्ध वचन सुने–पढे पनि बौद्ध समाजमा जातीय विभेद, उच–नीच र छुवाछुतप्रति शाक्य सदैव कठोररूपमा प्रस्तुत हुँदै आइरहेको छ। आफ्नो विवेकले देखेको सत्यका लागि परिआएमा सारा संसार विपक्षमा भए पनि एक्लै उभिने साहस गर्नुपर्छ भन्ने ज्ञानीहरूको भनाइ स्मरण गर्दै उनले भने– ‘हिरण्यवर्ण महाविहारसँग जोडिएको ‘एउटा गलत परम्परा’ का लागि म दशपारमिता आजु छोडेर पनि आएको छु।’

हिरण्यवर्ण महाविहारमा आजु (थकाली) हरूलाई २० जना र दशपारमिता आजु गरी दुई समूहमा विभाजन गर्ने गरिन्छ। उमेर बढ्दै गएपछि शुरुमा शाक्य २० आजुको समूहमा पर्यो। त्यसमा मयार्दाक्रमअनुसार उनी १८ नम्बरमा थिए। दशपारमिता आजुको रोलमा सबैभन्दा ज्येष्ठ एक वज्राचार्यले मात्र देवता रहेको मूल कोठामा छिर्न पाउँछन्। अरूलाई त्यस कोठामा जान निषेध थियो। त्यस बेला दशपारमिता आजुको रोलक्रममा शाक्य पनि पर्ने दिन नजिक आइरहेको थियो। त्यस बेला मैले निवेदन गरें– ‘एक जना वज्राचार्यले मात्र देवता रहेको मूल कोठामा छिर्न पाउने बाँकी ९ जना बाहिर बसिरहनुपर्ने परम्परागत युक्ति संगत भएन।’

‘आजु भएर पनि देवता भएको मूल कोठामा जान नपाउने गरी विभेदपूर्ण परम्परा निरन्तरता पाइरहन्छन् भने म आजुबाट राजीनामा दिनेछु भनें। मेरो कुरामा सम्बन्धित पक्षले न कुनै सुनवाइ गरे, किन यसो निवेदन दिएको भनेर न कसैले सोधें। यसबीचमा आजुबाट निकालिएको परम्परा विहारमा टाँसियो। कसैलाई केही नभनी आजु छोडेर आएँ। आजु भएर सुधार गर्न चाहेको थिएँ।’ –संघभोजनमा मासु र मदिरा राख्नु हुन्न भनेर शाक्यले निकै आवाज उठाएको बताए। ‘आफू आजु रहुञ्जले त्यसमा सुधार भएन। पछि त्यसमा सुधार भएको सुनें’, उनले भने– ‘यसमा म निकै खुसी छु।’

अधिकांश व्यक्ति एक्कैचोटी पूरै मुलुकमा भएको विकृति विसंगति हटाउने कुरा गर्छन्। व्यवहारमा त्यसका लागि सिन्कोसमेत भाँच्दैनन्। यस्तो प्रवृत्तिले कहीं पनि सकारात्मक परिर्वतन नआउने बताउँदै शाक्यले भने– ‘आफू बसेको घर–परिवार संस्थाबाटै सुधारका लागि कार्य अघि बढाउनुपर्दछ।’ यस विचारसँग मिल्दो आफ्नो जीवनको एउटा घटनाको उदाहरण दिँदै शाक्यले भन्नुभयो– ‘म जन्मिएको हःखा टोल। हःखा टोल सुधार समिति स्थापना हुँदा म पनि निकै सक्रिय भएर लागेको थिएँ।’

उनले पुराना घटना सम्झिँदै सविस्तार सुनाए– ‘त्यतिबेला टोल समितिको एक जना नाम चलेका अध्यक्ष हुनुहुन्थ्यो। टोल सुधार समितिमा टोलमा भएका सबै अटाउनुपर्दछ भन्दै मैले अध्यक्ष शाक्यसँग एउटा प्रस्ताव राखें। हाम्रो टोलमा ज्यापु पनि छन्। उनीहरूलाई पनि समितिमा राख्नुपर्दछ। हामीले जातीय विभेद गर्नुहुन्न, उनीहरूलाई टोल सुधारमा नराख्दा जातीय विभेद गरेको सन्देश प्रवाह हुन्छ।’

शाक्यले भने– ‘जति सम्झाए पनि अध्यक्ष शाक्य टोलमा भएका ज्यापुलगायत सबै जातलाई समितिमा राख्न मान्नुभएन। त्यसपछि यस्तो ठाउँमा बस्नु ठीक हुन्न भनेर समितिको सदस्यबाट राजीनामा दिएँ।’ त्यसपछि शाक्य नजिकै रहेको सौगल टोल सुधार समितिमा सदस्य बन्न गएका थिए। सौगल टोलमा हःखामा जस्तो एउटै जातको मानिस मात्र टोल सुधार समितिमा रहने परिपाटी नरहेको उनको ठम्याइ रहेको छ। प्रतिष्ठित र मध्यम वर्गको बाहुल्य रहेको समाजमा आफ्नो विचारका लागि टोल र संघ नै छोडेर जानु जो–कोहीका लागि सजिलो विषय होइन। उनले चाहेको भए विचार नै नराखिकन वा सम्झौता गरेर सम्मानजनक स्थान ओगटिरहन सक्थे। शाक्यले भने– ‘प्रतिष्ठा, सम्मानभन्दा मलाई मेरो आदर्श र विचार महत्त्वपूर्ण छ।’

कतिले उनलाई आफूले भने जस्तो भएन भन्दै पलायन हुने गरेको आरोप लगाउलान्। ‘टोल–संघ छोडेर अन्य क्षेत्रमा सक्रिय नभएका भए, यो आरोप एक हदसम्म ठीक हुन सक्छ’, उनले भने– ‘तर, म एक ठाउँमा सक्रिय हुन छोडेर अर्को क्षेत्रमा सक्रिय भएको छु। सक्रियताको क्षेत्र फरक भए पनि लक्ष्य, आदर्श एउटै रहेको छ।’ त्यसपछि शाक्य धर्मनिरपेक्षता कायम गर्न तामाङ, राई, लिम्बु र मगरलगायत आदिवासी जनजातिमाझ उपस्थितिलाई सशक्त बनाउँदै लगेका थिए। सामाजिक क्षेत्रमा मात्र नभई आफ्नो जागिरे जीवनमा सत्य र न्यायका लागि त्यत्तिकै लागिपर्ने व्यक्तिका रूपमा उनले आफ्नो पहिचान बनाएका थिए। जागिर जीवनमा पनि उनको कार्यमा त्यस्तै अडान, दृढता र अग्रसरता देखिन्थ्यो। जनताको पीर–मर्कालाई बुझेर समाधान गर्नमा उत्तिकै अग्रसरता लिने गर्दथे।

निजामती सेवामा उपसचिवसम्म भएका शाक्यले पञ्चायत कालमा विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए। जागिरकै क्रममा एकपटक उनको सरुवा हुम्लामा भएको थियो। त्यतिबेला हुम्लामा पसल नै थिएनन्। व्यापारीहरू भेडालाई बोकाएर खाद्य सामग्री ल्याउँथे। तिब्बतको ताक्लाकोटमा अन्न दिएर नुन सटही गर्ने व्यापारको प्रचलन थियो। व्यापार केन्द्र तिब्बतको सीमाना नभई त्यहाँबाट चारकोश जति भित्र गाउँमा रहेको थियो। नेपाली व्यापारीले सीमानामा साट्ने डिपो राख्नुपर्ने आवाज उठाउन थाले।

त्यसपछि चिनियाँसँग कुराकानी गरेर सीमानामा डिपो राख्ने वातावरण तयार गरियो। जनताप्रति समर्पित सरकारी अधिकारी भएको चिनियाँले प्रतिक्रिया दिएका थिए। त्यसैले आफूसँग कुराकानी गर्न आएको शाक्यको टोलीलाई मानसरोवर जाने प्रबन्ध मिलाइदियो। जागिरकै क्रममा उनले सुदूरपश्चिमको दार्चुलामा २ वर्ष बिताएका थिए। महाकाली नदीपारि भारतको धार्चुला र वारि नेपालको दार्चुला। आउन–जान रोकतोक थिएन। भारततर्फ मोटर चल्थ्यो। त्यहाँ सबै डिस्ट्रिक मेजिस्ट्रेटको कार्यालय थियो।

पारि भारतमा र वारि नेपालमा सामान ल्याउनु सस्तो र छिटो हुन्थ्यो। एकपटक निकै ठूलो पानी परेको थियो। तर, पुलबाट सामान ल्याउन भारतले रोक लगाएको थियो। पुलमा आवत–जावत गर्न रोक लगाइएको विषयमा भारतको सब डिस्ट्रिक मेजिस्ट्रिटलाई भेटेर उनले कुरा गरे। सब डिस्ट्रिक मेजिस्ट्रिटले आवत–जावत गर्न नरोकेको बताए। त्यसपछि भारतको पिथौरागढ पुगेर मेजिस्ट्रेटलाई भेटेर यो समस्या समाधान गरे। त्यतिबेला त्यहाँका जनताले जनताको मर्म बुझ्ने प्रमुख जिल्ला अधिकारीको रूपमा सम्मान गरेको उनको मनमस्तिष्कमा अझै ताजा छ। जागिरकै क्रममा लुम्बिनी अञ्चलमा सरुवा हुँदा भगवान् गौतम बुद्धको दर्शन गर्न जाँदाको परिस्थितिलाई अहिले पनि बिर्सिएका छैनन्।

शाक्यले औपचारिक शिक्षा लिने क्रममा लगनखेलस्थित पाटन अस्पताल अगाडिको चौरको छाप्रोबाट पाटन हाइस्कुल पाटन ढोकामा सारिएको थियो। सोही विद्यालयबाट उनले एसएलसी पास गरेका थिए।

एसएलसीपछि कामको खोजी गरे। घरेलु विभागमा जागिर मिल्यो। विभागमा काम गरिरहेको समयमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका थिए। त्यस बखत नेहरूले घरेलु विभागको समेत अवलोकन गरेका थिए। विभागको अवलोकन गरेको समयमा चर्को घाम लागेकाले प्रधानमन्त्री नेहरूलाई आफूले छाता ओढाएको शाक्य अहिले पनि सम्झिछन्।

जागिर जीवन होस् वा सामाजिक वा धार्मिक क्षेत्रमा शाक्य उत्तिकै सक्रिय र प्रतिबद्ध छन्। बुद्धधर्म, बुद्धशिक्षा बुझेर समाजमा त्यसविपरीत प्रवृत्तिले निरन्तरता पाइरहँदा धार्मिक व्यक्ति त्यस प्रवृत्तिप्रति विरोधी हुनुपर्ने उनको मत रहेको छ। भनिन्छ मानिसमा जति अन्यायको बोध हुन्छ, त्यति त्यति ऊ विद्रोही बन्दै जान्छ। लोकबहादुर शाक्यको धार्मिक र सामाजिक जीवन यही भनाइका यर्थाथ रूप हुन्। ‘बुद्धको ध्यान र ज्ञानको अभ्यास गरेर भित्रीरूपमा मानिस शान्त हुनुपर्दछ। शान्त मानिस सामाजिक विकृति विसंगतिप्रति उत्तिकै विरोधी हुनुपर्दछ। समाजमा परिर्वतन शान्त मानिसले मात्र ल्याउन सक्दछ’, शाक्यले भने– ‘समाजमा विभेद छ, अन्याय छ, शान्त मानिसले न्याय र समानताका लागि विरोध गर्नै पर्दछ। न कि त्यसप्रति हेर्दै नहेरी पलायन हुने।’

विकृति विसंगतिप्रति उनको कडा अभिव्यक्ति, प्रतिष्ठा पाउने वा नपाउने हिसाबकिताब नगरिकन आफ्ना अभिव्यक्ति दिने उनको स्वभाव, जोश, जाँगर हेर्दा उनी अझै लक्का जवान ९० वर्षीय युवक जस्तो लाग्दछ। युवा चित्त भनेको साहस गर्न सक्ने शक्ति हो। उमेर ढल्कँदैमा, केश फुल्दैमा स्थवीर भइन्न भन्ने बुद्धको शिक्षा सम्झिँदै उनले भने– ‘आफ्नो विवेकका लागि समाजको भीडदेखि पर भएको छु।’

प्रतिक्रिया दिनुहोस्