आफ्नो स्वास्थ्य परीक्षण गर्न शाहीको चुनौती, भ्रम फैलाउनेलाई कारबाहीको माग


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफूलाई लक्षित गरी सामाजिक सञ्जालमा गलत सूचना तथा भ्रमपूर्ण सामग्री फैलाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले आफूले मादक पदार्थ सेवन गरी जथाभावी बोलेको भन्ने आरोप निराधार रहेको दाबी गरे। उनले आफूले जीवनमा मादक पदार्थ सेवन गरेको प्रमाणित गर्न सरकारलाई चुनौती दिँदै त्यसको प्रमाण भेटिए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताए।

तर आफूले त्यस्तो पदार्थ सेवन गरेको प्रमाण नभेटिए आफूविरुद्ध गलत सूचना तथा भ्रामक सामग्री प्रचार–प्रसार गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही हुनुपर्ने उनको माग थियो।

शाहीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले महिलासँगको तस्बिर तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रचार गरिएको दाबीसमेत गरे। उक्त विषयमा समेत निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्दै उनले अनुसन्धानबाट आफ्नो गल्ती प्रमाणित भए कारबाही स्वीकार गर्ने बताए। आफ्नो गल्ती नभएको पुष्टि भए त्यस्ता सामग्री कहाँबाट र कसको संलग्नतामा तयार तथा प्रसारित भए भन्ने तथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो।

यस्ता गतिविधिमा सत्तारुढ दलका कार्यकर्ताको समेत संलग्नता रहेको दाबी गर्दै शाहीले त्यसबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।

आफूले विगतमा दिएका अभिव्यक्तिलाई तोडमोड गरेर विभिन्न आरोप लगाइएको भन्दै उनले केही विषयमा आफ्नो धारणा पनि स्पष्ट पारे। आफूले सिंहदरबार जलाउन वा जेल तोड्न आह्वान नगरेको, नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति नदिएको तथा थप मानवीय क्षति हुने किसिमको अभिव्यक्ति आफूले नदिएको उनले बताए।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने विषय आफूले उठाएको उनको भनाइ थियो।

सरकारका गतिविधिमाथि निगरानी राख्नु र खबरदारी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै शाहीले प्रतिपक्षबिनाको सरकार ‘नुनबिनाको तरकारी’ जस्तै हुने टिप्पणी गरे। आफूहरू सरकारलाई आवश्यक ठाउँमा रोक्ने ‘ब्रेक’को भूमिकामा रहेको उनको भनाइ थियो।

यसैबीच, शाहीले विद्युत्मा लगाइएको कर तथा शवमाथि समेत कर लगाउने व्यवस्था हटाउन सरकारसँग आग्रह गरे। जनताले सरकारसँग प्रश्न गर्न आफूहरूलाई संसद्मा पठाएको उल्लेख गर्दै उनले भने, ‘हामीलाई जनताले प्रश्न गर भनेर पठाउनुभएको हो। हामी प्रश्न गर्छौँ।’