भाषा जीवन्त राख्नु भनेको संस्कृति जोगाउनु हो : मन्त्री गौतम


काठमाडौं।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले भाषा जीवन्त राख्नु भनेको सभ्यता, संस्कृति र पुर्खाहरुको ज्ञानलाई अगाडि बढाउनु रहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा सोमबार तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। मातृभाषा पत्रकारिता भाषा संरक्षण, सांस्कृतिक अधिकार र दिगो विकास’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरेको हो।

सो अवसरमा मन्त्री गौतमले भन्नुभयो ‘कतिपय भाषाहरु हाम्रो समुदायमा छ त भन्ने किसिमको हुन सक्छ तर ती भाषालाई प्रयोगमा ल्याएनौँ भने ती भाषा जीवन्त रहँदैन । भाषालाई जीवन्त राख्नु भनेको हाम्रो सभ्यता, संस्कृति र पुर्खाहरुको ज्ञान यिनीहरु सबैलाई अगाडि बढाउनु पनि हो ।’

उहाँले राज्यका सबै सूचना देशका सबै क्षेत्रमा पुग्नुपर्ने भन्नुहुँदै यसका लागि राज्यले आफ्नो क्षेत्रबाट पहल गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘आज हाम्रो नेपालको हरेक कुना काप्चामा गएर हामीले नेपाली दिदीबहिनीलाई सोध्यौँ भने राज्यका सबै सूचना तपाईंले प्राप्त गर्नुभएको छ त ? कहि न कतै त्यहाँ हामीले दुरी भेटिरहेका हुन्छौँ । अब त्यो दुरीलाई मेटाउने जिम्मेवारी राज्यले आफ्नोतर्फबाट पहल त गर्छ तर यो दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी तपाइहरुको काँधमा छ ।’

उहाँले मातृभाषी पत्रकारलाई हेपिएको वा चेपिएको भन्ने महसुस नगर्न भन्नुहुँदै यस विषयमा सबैले आत्मआलोचना गरेर सुधारको बाटोमा जानुपर्ने पनि बताउनुभयो ।

मन्त्री गौतमले भन्नुभयोे ‘नेपाली समाजमा भएका हरेक मानिसहरु जो सूचनाको पहुँचबाट टाढा छन्, उहाँहरुलाई सूचना दिएर मूलधारमा ल्याउन यहाँहरुले जुन भूमिका खेल्नुभएको छ, यहाँहरुप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ । यहाँहरुले पेलिएको, हेपिएको भन्ने जुन महसुस गर्नुभएको छ, त्यो महसुस कसको कारणले भएको छ ? सबैले आत्मालोचना गरेर सुधारको बाटोमा हामी जानैपर्छ भन्ने मलाई लाग्छ ।’

सो अवसरमा फोनिजका अध्यक्ष लक्की चौधरीले नेपालको संविधानले सबै भाषा राष्ट्रभाषा भनिसकेको अवस्थामा राज्य सबै भाषाभाषीलाई समान दृष्टिले हेर्ने मातृभाषाको पत्रकारिताको विकासको लागि ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो।