मकवानपुरमा निर्वाचन तयारी पूरा



हेटौंडा, (नेस)
मंसिर २१ अर्थात् आज हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी मकवानपुरमा पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मीसहित मतदानका लागि चाहिने सामग्री सबै केन्द्रमा पुर्याइएको र अब मतदान मात्र बाँकी छ।

मतदानका लागि मतदाता परिचयपत्र वितरण गर्ने, मतदातालाई लाइनमा बस्न बाँस गाढेर डोरी तान्ने तयारी भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो। उहाँले निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ। जिल्लामा शान्तिपूर्ण रूपमा मतदान गर्न सबै व्यवस्था गरिएको उहाँले बताउनुभयो।

जिल्लाका १ सय ६४ वटा मतदानस्थलमा ३ सय २४ मतदान केन्द्र छन्। ती केन्द्रबाट मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ। मतदानका लागि २ हजार ५ सय ९५ कर्मचारी खटिएका छन्। १ हजार ७ जनपद प्रहरी, १ हजार ३ सय २८ म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

नेपाली सेना र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी पनि परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो। प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्र रहेको मकवानपुरमा चुनाबको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुर प्रमुख गोविन्द पौडेलले बताउनुभयो। मतपत्र, मतपेटिका र अन्य आवश्यक सामग्री मतदान केन्द्रमा पुगिसकेको पौडेलले जानकारी दिनुभयो।

निर्वाचनका लागि मकवानपुरको सुरक्षा व्यवस्था चुस्त पारिएको प्रजिअ बुढाले जानकारी दिनुभयो। प्रजिअ बुढाले ३ सय २४ वटै मतदान केन्द्रका लागि म्यादी प्रहरीसहित ४ वटै सुरक्षा अंगका करिब ३ हजार बढी संख्या सुरक्षाकर्मी खटाइएको बताउनुभयो।

‘मतदातालाई घरदेखि बाटो र मतदान केन्द्रसम्म सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं’, प्रजिअले भन्नुभयो– ‘ढुक्कसाथ मताधिकार प्रयोग गर्न मतदातालाई अनुरोध गर्छु।’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ।

मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग प्रमुख जिल्ला अधिकारी बुढाले आह्वान गर्नुभएको छ।
मतदाता हिँड्ने बाटोभरि नेपाली सेना तथा प्रहरीको मोबाइल गस्ती टोलीले गस्ती गर्ने भएकाले मतदाता सुरक्षित मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको विश्वास दिलाउँदै प्रजिअ बुढाले मतदाताको मतदान गर्ने वातावरण बनिसकेकाले उत्साहपू्र्वक मतदान गर्न आग्रह गर्नुभएको छ।

सम्भावित घटना हुनसक्ने स्थानको र उम्मेदवारको सुरक्षामा ध्यान दिइएको भन्दै आपराधिक घटना हुनसक्ने स्थानमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको र आपराधिक गतिविधि र पासबिनाका सवारीसाधनलाई कडाइ गरिने, हवाइ र स्थल गस्ती गरिने उहाँले बताउनुभयो।

मकवानपुर प्रहरी प्रमुख खनालले अप्रिय घटना हुन नदिन नेपाल प्रहरी तैनाथ भएको भन्दै घटना सम्भावित क्षेत्र र आवश्यक परेको स्थानमा १० मिनेटभित्र सुरक्षा निकाय पुग्ने व्यवस्था मिलाइएको बताउनुभयो।
क्षेत्र नम्बर १ मा १ लाख २४ हजार ७ सय ९९ मतदाता छन्। क्षेत्र नम्बर २ मा १ लाख ३० हजार ८ सय ५ गरी कूल २ लाख ५५ हजार ६ सय ४ मतदाता छन्। मतदातामध्ये १ लाख २९ हजार ६ सय २८ पुरुष, १ लाख २५ हजार ९ सय ७० महिला छन्। मकवानपुरमा ६ जना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ६२ हजार ८ सय ४३ र (ख) मा ६१ हजार ९ सय ५६ मतदाता र क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा ७४ हजार १ सय ५२ र (ख) मा ५६ हजार ६ सय ५३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्