तीन घेराको सुरक्षामा मतपेटिका, कार्यकर्ताको २४ घण्टे पहरेदारी



नानीराम नेपाल, सिन्धुपाल्चोक

प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकमा १ लाख ५५ हजार ३ सय ६४ मत खस्यो । क्षेत्रगतरूपमा हेर्दा प्रतिनीधिसभा १ नम्बर क्षेत्रमा ७८ हजार ७ सय ४९ मत खसेको छ भने २ नम्बर क्षेत्रमा ७६ हजार ६ सय १५ मत खसेको छ ।

क्षेत्रगतरूपमा खसेको मताङ्क हेर्दा प्रतिनिधिसभाको चुनाव जित्नका लागि उमेदवारहरुलाई ३७ हजारको हाराहारीमा मत आवश्यक देखिन्छ । मूलतः जिल्लामा दुई गठबन्धनका बीच मात्रै निर्वाचन भएको हो भन्दा फरक पर्दैन । अन्य विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवारी दर्ता भए पनि सिन्धुपाल्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने अवस्था रहेको छ । दुई गठबन्धनमध्ये ३७ हजार हाराहारीको मत ल्याउने उम्मेदवारले जिल्लाका दुवै क्षेत्रमा जित्ने देखिन्छ । विगतका निर्वाचनको मतपरिणाम हेर्दा कुल खसेको मतमध्ये ३ प्रतिशत हाराहारीको मत साना दल तथा स्वतन्त्र उम्मेदवारले पाउनेछन् । यसपटक प्रत्यक्षतर्फको मत कमै मात्र बदर हुने अनुमान गर्न सकिन्छ । गठबन्धनले प्रत्यक्षतर्फ एउटामात्रै चुनाव चिह्न लिएका कारण पनि प्रत्यक्षतर्फको मत कम मात्रै बदर हुने देखिएको हो ।

मत गणना शुरु हुन २ दिनमात्र बाँकी रहँदा जिल्लामा दुवै गठबन्धनले जितको दाबी गरिरहेका छन् । जिल्लाका दुवै क्षेत्रमा आफ्ना उम्मेदवार जित्ने लोकतान्त्रिक गठबन्धनको दाबी छ भने दुवै क्षेत्रमा ५ हजारभन्दा बढी मतान्तरले जित्ने वाम गठबन्धनले दाबी गरिरहेको छ । जिल्लामा राम्रै पकड जमाएका दुई वाम एमाले र माओवादी केन्द्रबीचको गठबन्धन भएपछि वाम उम्मेदवार अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ ५ देखि ७ हजारको मतान्तरले चुनाव जित्ने दाबी गरिरहेका छन् । जिल्लामा बलियो संगठनकै आधारमा उनीहरु चुनाव जित्नेमा ढुक्क देखिएका छन् । तर, गठबन्धनमा अन्तर्घातको ठूलो डर भने उनीहरुलाई छ ।

अन्तर्घात भए सापकोटा र तामाङले सोचेजस्तो चुनावी परिणाम आउने छैन । सांगठनिक आधार बलियो भए पनि उनीहरुले हारे भने अन्तर्घातकै कारणले हार्ने हुन् । तर, स्थानीय तह निर्वाचनका तुलनामा ७ प्रतिशले कम मत खसेपछि मतान्तर घट्न सक्ने उनीहरुको बुझाइ छ । अर्कातिर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेत र पशुपतिशमशेर राणा पनि जितको दाबी गरिरहेका छन् । वाम गठबन्धनभित्र अन्तर्घातको अनुमान र आशासहित उनीहरु चुनाव जित्ने दाबी गरिरहेका छन् । त्यसमाथि स्थानीय तहकै अनुपातमा मत नखसेका कारण पनि लोकतान्त्रिक गठबन्धनलाई जितका लागि सहज भएको उनीहरुको बुझाइ छ । सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभामा जित्ने मुख्य आधार वामभित्रको अन्तर्घात नै हो ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बस्नेत र राणाले चुनाव जित्ने दाबी गरिरहँदा उनीहरु दुवै जनालाई अन्तर्घातकै भर गरेर नतिजा कुरिरहेका छन् । तर, गठबन्धनभित्र अन्तर्घात नभएको अवस्थामा जिल्लामा वाम गठबन्धनले नै विजयको झण्डा फहराउने देखिन्छ । वाम गठबन्धनभित्र अन्तर्घात भएको अवस्थामा लोकतान्त्रिक गठबन्धनले जित निकाल्न सक्छ ।
कार्यकर्ताको २४ घण्टे पहरेदारी
मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका जिल्ला कृषि विकास कार्यालयको नवनिर्मित भवनमा भण्डारण गरेर राखिएको छ । निर्वाचन सम्पन्न भएलगत्तै मतगणना नभएपछि कृषि विकास कार्यालयको भवनमा राखिएको मतपेटिका सुरक्षा निकायका तीन घेराको सुरक्षामा छ । सुरक्षा निकायले मतपेटिकाको सुरक्षाका लागि २४सै घण्टा जनशक्ति परिचालन गरिरहेको छ भने अर्कातिर जनमतमाथि कुठाराघात हुने डरले दलका नेता तथा कार्यकर्ता पनि २४सै घण्टा पहरेदारी गरिरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालय परिसरमा दुई वटा टेन्ट राखिएको छ, त्यही टेन्टभित्र दलका प्रतिनिधिहरु रात कटाउँदै आएका छन् । मतपेटिका राखिएको भवनको मूलगेटमा ४ वटा ताल्चा लगाइएको छ, झइलहरुमा प्लाई ठोकिएको छ । मतपेटिका भण्डारणपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कृषि विकास कार्यालयको मूल गेटमा ताल्चा लगाएको थियो । थप सुरक्षाका लागि भन्दै केही दिनअघि राजनीतिक दलहरुले पनि छुट्टाछुट्टै ताला लगाएका छन् । २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि सोही दिन सँँझ ५ बजेदेखि यहाँको मतगणना शुरू गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्