वरुण प्रहरीको शरणमा

0
Shares

एक्सन कमेडी फिल्म जुडवा २ ले बक्स अफिस र वल्र्डवाइड गरी २ सय करोड माथिको व्यापार गरेपछि दंग परेका अभिनेता वरुण धवन एउटा समस्यामा परेका छन्। जसको कारण उनले पुलिसको सहारा लिनुपरेको छ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार सन् २०१२ मा आएको फिल्म स्टुडेन्ट अफ द इयरबाट फिल्मी यात्रा थालेका अभिनेता धवनलाई एक फ्यान युवतीले आफूलाई बेवास्ता गरे आत्महत्या गर्ने धम्की दिएकी हुन्। ‘वरुणले उक्त फिमेल फ्यानको नम्बर ब्लक गरेपछि धम्की आएको र लगत्तै उनले पहिलो उजुरी दिएका हुन्,’ –एक पुलिस अधिकारीले भारतीय सञ्चार माध्यमलाई भनेका छन्।

लगातार ह्वाट्सएपमा म्यासेज आएपछि वरुणले आफ्ना कानुनी सल्लाहकारको परामर्श लिएर पुलिस केस दर्ता गरेका थिए। घटनाका बारेमा अध्ययन भइरहेको र नम्बर पहिचान गर्ने काम भइरहेको जनाएको समाचारमा उल्लेख छ। ५ वर्षे करियरमा ९ फिल्म दिएका वरुण यतिबेला सन् २०१८ जुन १ मा रिलिज हुने फिल्मको सुटिङमा व्यस्त छन्।