चैत्यदेवी र मदनकृष्ण सम्मानित

0
Shares

नेपालमै बनेको पहिलो फिल्म आमामा आमाको भूमिका निर्वाह गर्ने अभिनेतृ चैत्यदेवी सिंहलाई नेवाः फिल्म सोसाइटीले भव्य सम्मान गरेको छ। सोसाइटीद्वारा राजधानीमा आयोजित दुईदिने फिल्म महोत्सव एनएफएस संकिपा नखः कार्यक्रमको समापन समारोहमा कलाकार सिंहको साथमा हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई एनएफएस संकिपा सम्मान–११३७ बाट सम्मानित गरियो।

संगीत, नाटक र फिल्मको माध्यमबाट निरन्तर नेपालभाषा साहित्य, कला क्षेत्रमा योगदान पुर्याएबापत अभिनेता श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो। त्यसै गरी आमा फिल्मको मुख्यपात्र आमाको भूमिका निर्वाह गर्नुका साथै नेपालको पहिलो रंगीन फिल्म कुमारीको मुख्य अभिनेतृ तथा लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सहायक निर्देशकको नियुक्ति पाएकी पहिलो महिला निर्देशक बन्न सफल कलाकारको रूपमा कलाकार चैत्यदेवी सिंहलाई सम्मान गरिएको हो।

दुवै कलाकर्मीलाई सम्मानपत्र र करुणामयको रथको ढाँचामा निर्माण गरिएको सम्मान चिह्नसहित सम्मान गरिएको हो। ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान र जनगायक भृगुराम श्रेष्ठले सम्मानित उनीहरुलाई सम्मानपत्र र सम्मान चिह्न हस्तान्तरण गरे।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले राज्यको फिल्मसम्बन्धी नीति आदिवासी जनजातिमैत्री नहुँदा जनजाति फिल्मकर्मीले समस्या भोग्नु परिहेको बताए। त्यसै गरी अभिनेता मदनकृष्ण श्रेष्ठले आफू मुनासः मार्फत नेपालभाषाकै प्रहसनबाट कला क्षेत्रमा प्रवेश गरेको स्मरण गर्दै सम्मानबाट हर्षित भएको बताए। अभिनेतृ चैत्यदेवी सिंहले कला क्षेत्रमा आफ्नो विगतको स्मरण गर्दै सम्मानबाट गौरवान्वित भएको बताइन्।

महोत्सवमा लघु एवं फिचर गरी जम्मा ८ वटा फिल्म प्रदर्शन गरिएको थियो। क्यान्सरबाट स्वर्गीय भएका कलाकार रामशेखर नकर्मीलाई श्रद्धाञ्जली स्वरूप उनैबाट निर्देशित पःखाः फिल्म भने विशेष प्रदर्शनीका रूपमा प्रदर्शन गरिएको थियो। अन्य ७ मध्ये दर्शकको भोटको आधारमा नेपाल सांस्कृतिक उत्थान परिषद्को ब्यानरमा निर्मित फिल्म तापलय्ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको थियो।

सोसाइटीका अध्यक्ष लुःजः सिंहले अब नेवाः फिल्म सोसाइटीले नेवाः कलाकारको डाइरेक्टरी प्रकाशन गर्ने योजना घोषणा सुनाए। सोसाइटीले गतवर्ष सुनसरीको धरानमा पहिलो फिल्म महोत्सवको आयोजना गरेको थियो।

Skip This