८९/१० फिल्म सफल



विदुर गिरी

वर्ष २०७३ नेपाली फिल्म क्षेत्रका लागि धेरै चर्चा र थोरै मात्र सफलताको वर्ष सावित भएको छ । वर्षभरिमा ७ दर्जन फिल्म रिलिजमा आए । तर अत्यधिक सफलता भने एक दर्जनजति फिल्मले मात्र पाए । धेरैजसो फिल्म असफलताको अनुहार हेर्न बाध्य भए भने केही फिल्मले मात्र सफलताको स्वाद चाख्न पायो ।

डिजिटल प्रविधि र फिल्म प्रदर्शनको क्षेत्रमा सर्भर प्रयोगका कारण एकसाथ एकै साता देशभरिका हलमा फिल्म रिलिज हुन सम्भव भए पनि कमजोर स्तर र पकडका कारण धेरैजसो फिल्म असफल सावित भए । रिलिजको हिसाबले वर्ष २०७३ मा वर्ष ०७२ मा भन्दा बढी फिल्म बजारमा देखिए । वर्ष ०७२ मा नेपालीमा डब गरेर रिलिज गरिएका भोजपुरी र नेपाली भाषामै बनेका गरी ८४ फिल्म बजारमा आएका थिए भने यस वर्ष कुल ८९ फिल्म बजारमा देखिए । त्यसअघि वर्ष ०७१ मा ९७ फिल्म रिलिज भएका थिए । वर्ष ०७२ मा रिलिजमा आएकामध्ये १४ फिल्मले मात्र राम्रो व्यापार गरेको देखियो । यस वर्षको व्यापारिक परिणाम पनि त्यस्तै देखिएको छ ।

०७३ को मध्यतिर बजारमा आएको छक्का पञ्जा व्यापारिक परिणामका दृष्टिकोणले वर्षभरिकै सर्वाधिक फिल्म सावित भयो । हास्य अभिनेत्री तथा डेब्यु फिल्म निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित फिल्म देशभरिका हलमा लामो समयसम्म छाउन मात्र सफल भएन, १६ करोड ग्रस कलेक्सन (कुल कमाइ) गर्न सफल भयो भने निर्मातालाई २४ प्रतिशत शेयरबापत ४ करोड रुपियाँ दिलायो । देशका मुख्य फिल्मी बजार तथा राजधानीका मुख्य मुख्य स्कुल र कलेजमा पुगेर गरिएको आक्रामक प्रचारप्रसार, फिल्ममा संलग्न हास्य कलाकारहरूको क्रेज तथा अझ विशेष गरी दीपाश्री निरौलाले निर्देशन गरेकैले उनका क्रेजी फ्यानका कारण छक्का पञ्जा बजारमा आएपछि लामो समयसम्म अन्य नेपाली फिल्म त के विदेशी फिल्म पनि हलमा टिक्न सकेनन् । छक्का पञ्जाप्रतिको दर्शक क्रेजकै कारण राम्रा र आशा गरिएका फिल्मले पनि बजारमा दर्शक पाउन सकेन । छक्का पञ्जा हलमा छाउन्जेल अरू राम्रा नेपाली फिल्म पनि साइड लाग्न बाध्य भए । वर्षौंसम्म हलमा गएर नेपाली फिल्म नहेरेकाहरूले पनि यसलाई दोहोर्याई तेहेर्याई हेरेर राम्रो मुनाफा गराइदिए ।

यसबाट नेपाल सानै देश सही, राम्रो फिल्म भए नेपाली फिल्मको बजार पनि ठूलो छ भन्ने पुष्टि भएको छ । नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित र निर्मित अन्तिम फिल्म कोहिनुर फिल्म चलिरहेकै अवस्थामा उनको निधन भएकै कारणले उनीप्रति सहानभुति जनाउन मात्र चलेको थिएन, फिल्ममा दम भए नेपाली फिल्मी बजारको आकार पनि राम्रै छ भन्ने समेत छक्का पञ्जाले पुनः पुष्टि गरिदियो । सँगसँगै श्रीकृष्णको निधन र उनको नायिका पत्नी श्वेता खड्कालाई परेको पति वियोगप्रति समवेदना जनाउन मात्र दर्शकले फिल्म हेरिदिएका रहेनछन् भन्ने पनि छक्का पञ्जाले गरेको आक्रमक व्यापारले प्रस्ट पारिदियो । यो फिल्मले लामो समयपछि राजधानीका विभिन्न हलमा प्रदर्शनको सय दिन पनि मनाउन सफल भयो । छक्का पञ्जाको नेपाल रिलिज लगभग पूरा भइसकेको तथा ओभरसिज बिजनेस चलिरहेका बेला यो फिल्मको पाइरेसी हुन पुग्यो । यसको पाइरेसीका आरोपित कृष्ण सुवेदीले आत्महत्या गर्नु दुःखद पक्ष बन्न पुग्यो ।

छक्का पञ्जाअघि ०७३ साललाई बजार बनाएको विकास आचार्यकृत फिल्म नाइँ नभन्नु ल ४ सुपरहिट भयो । अलग विषय र धारमा बनेको कालो पोथी के चल्ला र भनेर त्यसलाई हेपिए पनि त्यसले चर्चा मात्र पाएन, मल्टिप्लेक्स हलहरूबाट रिलिजमा ल्याइएको फिल्मले कमाइ पनि राम्रो गर्यो ।

सवीर श्रेष्ठ निर्देशित रेखा थापाको राम प्यारीले दर्शकको प्यार पायो, हाउ फन्नीले मोफसलका दर्शकलाई फन दिलाउन नसके पनि राजधानीबासीलाई रमाइलो गराइदियो । हेमराज बिसीको गाजलुको गाजललाई दर्शकले स्वीकारे, श्रीराम दाहालको लुकामारी राजधानीका हलमा मन पराइए, ऋषि लामिछानेको किस्मत २ बाट निर्माता छविको किस्मत फेरि बलियो सावित भयो, फिल्म हिट भयो । डेब्यु निर्देशक प्रदीप भट्टराई आफ्नो पहिलो फिल्म जात्राबाटै आफूलाई अब्बल सावित गर्न सफल भए भने रामबाबु गुरुङको पुरानो डुंगाले नयाँ रेकर्ड बनाउन सकेन, फिल्मले इनिसेल गर्न भने सफल भयो । निश्चल बस्नेतले लुट २ बाट लुटबाटै जस्तो हंगामा त मचाउन सकेनन्, तर फिल्म हिट भयो ।

आकाश अधिकारीको के म तिम्रो होइन र, लामो समयपछि विराज भट्टले रिब्रेक लिएको रोज राणाको फिल्म जय परशुराम, मिलन च्याम्सको वीर विक्रम, राजु अधिकारीको सुब्बा साब, प्रचण्डमान श्रेष्ठको लभ सासा, सवीर श्रेष्ठको किङ र मुकुन्द भट्टको लप्पन छप्पनले एभरेजको व्यापार गरे । रोज राणाको डेब्यु निर्देशनको जय परशुरामले कमाइ गरे पनि लगानी धेरै भएका कारण मुनाफा भने कमाउन सकेन ।

जसरी कमाइ गर्न र धेरै मुनाफा पाउन सफल फिल्मको सूची छोटो छ, त्यसै गरी फ्ल्प फिल्मको सूची त्यति नै लामो छ । सुवर्ण थापाको बाटोमुनिको फूल, उत्कल थापाको जंगे, रनजित राना मगरको बाजिगर र प्रतिविम्ब, दिनेश पौडेलको आवारा र कम्पन, दीपक ओलीको रोल्पा रोग, ऋषिराज आचार्यको सुन्तलीलाई भगाई लग्यो झिल्केले, वसन्त जीएमको उहिले बाजेको पालामा, माधवराज खरेलको बिरानो माया रिलिज हुनुमा मात्र सीमित हुन पुग्यो, कमाइ गर्न सकेन ।

बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्ने बुझाउन बनाइएको ज्ञानेन्द्र देउजा निर्देशित बुद्ध बर्न इन नेपाल हलमा खासै टिक्न सकेन भने निरक पौडेलको होमवर्क, रमेश बोगटीको किन गरें माया, राजु अर्यालको एक्सन, उत्सव थपलियाको बेस्ट फ्रेन्ज फरेभर, सुरेश थापाको छेस्को, राजु अर्यालको एक्सन, दीपेन्द्र दाहालको रिलेसन, बाबुराम दाहालको तीन घुम्ती, ऋषि न्यौपानेको लाले, क्रान्ति केसीको सूर्य द पावर, राजु शाहको नमस्ते नेपाल, पोर्न स्टार बन्ने चाहना देखाएकी अर्चना पनेरुलाई उत्तेजकरूपमा प्रस्तुत गरिएको राजु गिरीको जिस्म, श्रीराम महतको म त तिम्रैहुँ, वेदप्रसाद भुर्तेलको संजोग, रिम विश्वकर्माको रेलिमाई, राज शाक्यको एक पल, दीपेन्द्र के खनालको चपली हाइट २, दिनेश श्रेष्ठको शकुन्तला, निर्मल शर्माको ब्रासलेट, लक्ष्मण सुवेदीको लालजोडी, राजबहादुर सानेको वृन्दावनले पनि दर्शकको मन जित्न सकेन । त्यसै गरी सुरज भुसालको गाँठो, बीएस बलामीको ड्राइभ दाइ, पुष्कर घिमिरेको सत्यदीप, अपिल विष्टको झुम्की, आशीष श्रेष्ठको सफर, जनक खड्काको २१ वर्ष, भोजपुरी फिल्मको नेपाली डब भर्सन धनवान, योगेश घिमिरेको राधा, शिव शर्माको परदेशीको उमंग, हिक्मत विष्टको द विनर, आशीष भेटवालको जंगबहादुरको कोट, समिर बलामीको द फेमस, जिसी दीप सागरको पुरानो पुस्ता, मनोज पण्डितको छाया, सरोज पौडेलको मेन्टल, नवीन अवालको बिजुली मान्छे, लक्षु गौतमको तँ म र ऊले पनि दर्शकको चित्त बुझाउन सकेन भने दीपक रौनियारको ह्वाइट सनले चर्चा पाएजसरी दर्शक पाउन सकेन ।

रविन श्रेष्ठको पार्सल, निरञ्जन मेहेता ‘मञ्जित’ को तिमीबिना मलाई जिउनु छैन, वसन्त निरौलाको समर्पण, बिकु थोकरको चक्र, प्रेम लामाको यु टर्न, रवीन्द्र शाहीको भ्रम, सन्तोष शिवाकोटीको शब्द, समिर मियाको भाग्य आ–आफ्नै, लखमान योञ्जन तामाङको मंगोलियन हर्ट, हरि पराजुलीको परिणाम, भाइराम श्रेष्ठको थ्री मंकिज, जनक खकुरेलको रामजाने, राजु अधिकारीको लेक साइड, नरेशकुमार केसीको डाइङ क्यान्डल, देव नेपालको मेरो देश, बीएस बलामीको काल, भेट्रान निर्देशक तुलसी घिमिरेको दर्पण छाया २, अरूणकुमार प्रधानको यो साइनो मायाको, मधुसुदन भट्टराईको निर्भय, सुवास कोइरालाको पलास, रूपेश थिङको अपरिचित र सुमन खड्काको धर्मयुद्धले पनि दर्शकलाई खुसी बनाउन सकेन ।

 

बिकेन सिक्वेल

वर्ष ०७३ नेपाली फिल्मको क्षेत्रमा सिक्वेल फिल्मको एक किसिमले बाढी नै देखियो । पहिले हिट भएकादेखि लिएर केही चलेका फिल्मलाई दोस्रो संस्करणका रूपमा निर्माण गरिएको देखियो । तर यस्ता फिल्म नामका आधारमा मात्र सिक्वेलका रूपमा देखिए । पछिल्लो समयमा बलिउडमा देखिएको नामका आधारमा सिक्वेल फिल्म बनाउने प्रचलनलाई नेपाली फिल्म क्षेत्रले पनि पछ्याएको देखियो ।

तर नामका सबै सिक्वेल फिल्मले काम गरेन । अघिल्ला फिल्मभन्दा फरक विषय र कथावस्तुले नामका आधारमा बनेका धेरैजसो सिक्वेललाई दर्शकले रुचाएनन् । उही कथाको निरन्तरताको सिक्वेललाई पनि नेपाली दर्शकले रुचाउँदा रहेछन् भन्ने लुट २ बाट देखियो । विकास आचार्यले नामलाई आधार बनाएर बनाएको नाइँ नभन्नु ल ४ ले यस वर्ष पनि सुपर हिटको व्यापार गर्न सफल भयो ।

त्यसको ठीक विपरीत बाटोमुनिको फूल २ फिल्मी बजारमा टिक्न सकेन । दीपेन्द्र के खनाल निर्देशित पहिलो संस्करणको चपली हाइटले दर्शक पाए पनि चपली हाइट २ मा त्यस्तो परिणाम देखिएन, किस्मत २ भने चम्किन पुग्यो । लुटबाट ट्रेन्डसेटर सावित भएका निश्चल बस्नेतले लुट २ बाट आफूलाई त्यस प्रकारले प्रस्तुत गर्न सकेनन्, तर फिल्मले कमाउने काम भने गर्यो । दर्पण छायाको अपार सफलतापछि जोसिएर त्यही नाममा दर्पण छाया २ बनाएका तुलसी घिमिरेले पहिलेको रेकर्ड बनाउन सकेनन् ।

प्रयंका अगाडि

नायिकातर्पm काम र व्यस्तताका हिसाबले प्रियंका कार्की अगाडि देखिइन् । उनले खेलेका प्रायः फिल्म सफल सावित भए भने उनलाई दर्शकले पनि मन पराए । अर्की नायिका रेखा थापा थोरै फिल्ममा देखिइन्, तर प्रशंसा पाइन् । नायिका नम्रता श्रेष्ठ केही फिल्ममा देखिइन्, तर दर्शकको मनमा छाप्न छोड्न सफल भइन् । अर्की नायिका ऋचा शर्माको कामलाई पनि मन पराइयो । वर्षा राउत यो वर्ष आफ्ना फिल्म र अभिनय क्षमताका कारण हिट सावित भइन् । नायिका सञ्चिता लुइँटेल धेरैपछि राधामा देखिइन् । फिल्म सफल नभए पनि उनको कामको भने प्रशंसा भयो । निता ढुंगानाका लेक साइड र निर्भय बजारमा आए, तर दुवै फिल्मबाट उनलाई फाइदा भएन । नायिका शिल्पा पोखरेलले पनि थोरै फिल्मबाट समेत दर्शकको मन जित्न सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्