ललितपुर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी

564
Shares

नेपाल समाचारपत्र,ललितपुर
लितपुर उद्योग वाणिज्य संघको नेतृत्व आफ्नो पोल्टामा पार्न प्यानलसहित सविन श्रेष्ठ र कृष्णलाल महर्जन चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष श्रेष्ठकोे कार्यकाल सकिने भएपछि पुनः अध्यक्ष बन्न र संघमा नयाँ नेतृत्व हुनुपर्ने जिकिरसहित दुवै जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

३८औं वार्षिक साधारणसभा सकिएपछि आउँदो शनिबार निर्वाचन हुने छ। निर्वाचनबाट आ–आफ्नो जित सुनिश्चित गराउन महर्जन र श्रेष्ठ आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि जिल्लाका उद्यमी व्यवसायीहरू मत परिणामा आंकलनमा गर्नमा व्यस्त देखिएका छन्। निर्वाचनको परिणाम आफू अनुकूल बनाउन दुवै प्यानलले चुनावी प्रचारलाई तीव्र बनाएपछि उद्यमी व्यवसायीमाझ चुनावी रौनकताले छाएको छ।

अध्यक्ष श्रेष्ठले आफू पुनःनिर्वाचित हुने तीन वटा आधारहरू प्रस्तुत गर्नुभएको छ। पहिलो आधार अनुभव र नयाँ जोश भएका व्यवसायीको प्यानल छ। दोस्रो आफ्नो कार्यकालमा शुरू भएका होमस्टे, युवा तथा महिला उद्यमीका कार्यक्रमलाई व्यापकता र निरन्तरता दिनको लागि हो।

तेस्रो र प्रमुख आधार भनेको ५०औं स्थापना दिवस तथा स्वर्ण जयन्ती सफल बनाउन हो। यी तीन वटा आधारले आफू पुनः संघको अध्यक्षमा निर्वाचन हुने अध्यक्ष श्रेष्ठको दाबी रहेको छ। अध्यक्ष श्रेष्ठले पुनः निर्वाचनमा जित्न भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिरको पुनर्निर्माण, व्यवसायीहरूको समस्या एक ठाउँबाट समाधान गर्न ‘वान स्टप सप’, व्यवसायीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा भिज्ने वातावरण तयार गर्ने, राष्ट्रिय उत्पादकत्व अवार्ड दिने, सांस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गराउनेलगायतका एजेन्डा अघि सार्नुभएको छ।

श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रवीन्द्रराज ताम्राकार, उपाध्यक्ष उद्योगतर्फ बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष वाणिज्यतर्फ रूपकुमार शाक्य, उपाध्यक्ष संस्थागतर्फ वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा मनोजबहादुर न्याछ्यों र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहनुभएको छ। हालका महासचिव भरतलाल जोेशीले एक व्यक्ति एकपटक मात्र पदाधिकारीमा बसेमा संघले नयाँ विचारहरू आउने जिकिर गर्दै स्वतन्त्र रूपमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिनु भएको छ।

श्रेष्ठको उद्योगतर्फ सदस्यमा कृष्ण श्रेष्ठ, भूषणनार्थ शर्मा, मिलन शाक्य, श्रीजेशलाल शिल्पकार, सजन श्रेष्ठ र सुनील शाक्य ‘ हान्ताई’ को उम्मेदवारी परेको छ। वाणिज्यतर्फ उसन बज्राचार्य, कृष्णप्रसाद सापकोटा, भूमिनन्दन कर्माचार्य, रूपेन्द्रराज शाक्य, लजना श्रेष्ठ र सविनलाल प्रधान रहनुभएको छ। एसोसिएटतर्फबाट सदस्यमा राकेशभक्त मुल्मी रहनुभएको छ। अध्यक्षका अर्का दाबेदार महर्जनले उद्योगी व्यवसायीहरूले नयाँ शिराबाट काम गर्न सक्ने नयाँ टिमको चाहना गरेको उल्लेख गर्दै त्यसको लाभ आफूलाई मिल्ने विश्वास व्यक्त गर्नुभयो। ‘मेरो टिम नयाँ जोश र अनुभव मिश्रित समावेशी रहेको छ। उद्योग व्यवसायका विविध क्षेत्रमा राम्ररी भिजेका व्यक्तिहरू छन्। यसले पनि आफूनो जित सुनिश्चित रहेको छ।’ अध्यक्षका उम्मेदवार महर्जनले भन्नुभयो।

यसअघि संघको महासचिव हुँदा बृहत् ललितपुर महोत्सव आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आफ्ना क्षमता र सबल पक्ष उद्यमी व्यवसायी माझ राम्ररी परिचित रहेको बताउनुभयो। यसपटकको निर्वाचनमा यसको उचित मूल्याकंन हुने पनि उम्मेवार महर्जनले बताउनुभयो। ५० वर्षको इतिहास बोकेको संघलाई नयाँभिजनका साथ डोर्याउने पनि संघको अध्यक्षमा नयाँ नेतृत्व चाहिएको पनि उम्मेदवार महर्जनको भनाइ रहेको छ।

उहाँले भन्नुभयो–‘संघको सम्पत्ति भनेको उद्योगी व्यवसायीको हित हो ।’ विगतमा गरिएका प्रतिबद्धता पूरा गरेको देखिएन। प्रतिबद्धता अनुसार काम गर्ने छु।’ उम्मेदवार महर्जनले भन्नुभयो। उम्मेदवार महर्जनले ‘स्मार्ट ललितपुर भिजिट ललितपुर’ भूकम्पले क्षतविक्षत भएका सम्पदाहरूका पुनर्निर्माण, संघमा वस्तुगत संघको सचिवालय स्थापना गर्ने लगायत आर्थिक विकासका एजेन्डा अघि सारेका छन्।

त्यसैगरी महर्जनको प्यानलमा वरिष्ठ उपाध्यक्ष गजेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष (उद्योगतर्फ) विश्वराज बज्राचार्य, (वाणिज्यतर्फ) बालकाजी महर्जन, उपाध्यक्ष संस्थागततर्फ श्याम तण्डुकार, महासचिव दीपेन्द्र शाक्य र कोषाध्यक्ष नारायण गोपाल श्रेष्ठको उम्मेदवारी परेको छ।