अलैंचीले भाउ पाएन कृषकको चाडबाड खल्लो

0
Shares

गणेश साम्पाङ, पाँचथर

पाँचथरको याङवरक गाउँपालिका–२, फलैंचाका भक्तबहादुर बानियँँलाई यस पटकको दशैं खल्लो भएको छ। खोल्साको कालो सुन भनेर उपमा पाएको अलैंचीको मूल्य ओरालो लागेपछि पाँचथरका अलैंची कृषकले वर्ष दिनको चाड समेत रमाएर मान्न पाएनन्।

दुई वर्ष अघि प्रतिमन १ लाखको हाराहारीमा पुगेको अलैंचीको मूल्य कृषकले यसपटकको दशैंमा ३० हजार पनि नपाए पछि चाडबाड रमाइलो नभएको बानियाँले बताउनुभयो। अलैंचीको मूल्य घटेकाले कृषक चिन्तित मात्र होइन बरबाद नै भएका छन्। केही वर्ष अघि अलैंचीको मूल्य प्रतिमन १ लाख रुपियाँ पुगेपछि आप्mना सबै खेतबारीमा अलैंची रोपेका कृषक अहिले अलैंचीको मूल्य घटेपछि अलैंची मास्ने कि जोगाउने भन्नेमा चिन्तित भएको च्याङथापु सुन्दरपुर टोलका दीपक राईको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै राईले भन्नुभयो–‘अलैंचीको मूल्य उच्च हुँदा स्थानीय व्यापारीपछि अलैंची दिने सर्तमा अगाडि नै नगद दिन्थे तर मूल्य घट्दा त कसैले अगाडि रकम दिँदैनन्।’

दुई वर्षदेखि अलैंचीको मूल्य ओरालो लाग्ने क्रममा छ। गतवर्ष भन्दा यसपटक अलैंचीको मूल्य घटेको छ। अलैंचीको मूल्यमा आएको गिरावटका कारण दशैं बजारमा आर्थिक कारोबार समेत घटेको छ। केही वर्ष अघि पाँचथर जिल्लामा अलैंचीबाट १ अर्ब रुपियाँ जति रकम जिल्ला भित्रिने गथ्र्यो। तर, अहिले ३० देखि ३५ करोड रुपियाँ पनि भित्रिन मुस्किल भएको नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताउनुभयो।